नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधि तथा अधिवेशन प्रक्रिया पारदर्शी र लोकतान्त्रिक नभएको भन्दै स्थानीय असन्तुष्ट कार्यकर्ताहरूले केन्द्रीय सभापतिको ध्यानाकर्षण गराएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पठाइएको पत्रमा ‘सर्वसम्मति’को आवरणमा वास्तविक प्रतिनिधि र निष्ठावान कार्यकर्ताको इच्छा बेवास्ता गरी सीमित व्यक्तिको तजविजमा प्रतिनिधि चयन गरिएको आरोप लगाइएको छ। विशेष गरी गत निर्वाचनमा पराजित कांग्रेस उम्मेदवार पूर्वसांसद अतहर कमाल मुसलमानको मुख्य भूमिकामा प्रतिनिधि चयन प्रक्रिया सञ्चालन गरिएको र त्यसक्रममा त्याग, निष्ठा र योगदान पुर्याएका पुराना कार्यकर्ताहरूलाई पाखा लगाइएको असन्तुष्ट पक्षको दाबी छ। गत निर्वाचनमा कांग्रेसका बागी/स्वतन्त्र उम्मेदवार आशिष शर्माभन्दा पनि कम मत ल्याएर पराजित भएका मुसलमानले आफ्नै श्रीमती, आफ्ना कर्मचारी तथा पारिवारिक सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि तथा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा चयन गराएको भन्दै कार्यकर्ताहरूले आक्रोश व्यक्त गरेका छन्।
ध्यानाकर्षण पत्र अनुसार जनप्रतिनिधि, भ्रातृ संगठन र सामाजिक संघसंस्थामा समेत जिम्मेवारी सम्हालिरहेका व्यक्तिहरूलाई नै पुनः पदमा दोहोर्याउने र आफ्नै परिवार तथा कर्मचारीलाई प्रतिनिधि बनाउने काम भएको छ। यसले गर्दा लामो समयदेखि पार्टीमा क्रियाशील, निष्ठावान र संगठन निर्माणमा खटिएका कार्यकर्ताहरू अवसरबाट बञ्चित भएका छन्। उता विगतमा पटक-पटक दल परिवर्तन गरेका, निर्वाचनका बेला पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उभिएका वा संगठनमा निरन्तरता नभएका अवसरवादी व्यक्तिहरूलाई भने महाधिवेशन प्रतिनिधि बनाइएको आरोप लगाइएको छ। तल्लो तहका प्रतिनिधिहरूको स्वतन्त्र मत र सहभागिताबिना एकतर्फी रूपमा निर्णय लादेर सर्वसम्मतिको नाम दिइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्। पार्टी ‘दास र लासको नभएको’ उल्लेख गर्दै असन्तुष्ट कार्यकर्ताहरूले भाषणमा मात्र नभई कांग्रेसको वडा तहदेखि केन्द्रसम्मै लोकतान्त्रिक अभ्यास, विधि र पारदर्शिता व्यवहारमै अनुभूति हुनुपर्ने अडान राखेका छन्।
उनीहरूले कपिलवस्तु क्षेत्र नं. १ अन्तर्गत वडा अधिवेशनदेखि महाधिवेशन प्रतिनिधि चयनसम्मको सम्पूर्ण प्रक्रियाको निष्पक्ष छानबिन गर्न र सर्वसम्मतिको नाममा प्रतिनिधिहरूको इच्छा बेवास्ता गरिएको भए सत्यतथ्य पत्ता लगाई तत्काल सुधार गर्न माग गरेका छन्। साथै महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पार्टीको विधान, नियमावली र निर्वाचन निर्देशिकानुसार भए/नभएको अनुगमन गर्न र सीमित परिवार वा समूहमा पद केन्द्रीकृत हुन नदिई योग्य र सक्षम कार्यकर्तालाई समान अवसरको प्रत्याभूति गराउन केन्द्रीय नेतृत्वको ध्यान ध्यानाकर्षण गराएका छन्। कपिलवस्तु क्षेत्र नं. १ का चिन्तित तथा सक्रिय कार्यकर्ताका नामबाट पठाइएको सो पत्रमा महाधिवेशनको आधारभूत प्रक्रियामै कार्यकर्ताको विश्वास कमजोर हुन नदिन केन्द्रीय नेतृत्वले तत्काल कदम चाल्नुपर्ने आग्रह गरिएको छ।
