नेपालमा राजनीति कहिल्यै अभावमा रहेन। व्यवस्था बदलियो, सरकार बदलियो, नेतृत्व बदलियो, राजनीतिक नारा बदलियो। तर आम नेपालीको जीवनमा एउटा प्रश्न भने अझै उस्तै छ,जीवन कहिले सहज हुन्छ?आज देशको ठूलो हिस्सा दैनिक जीवन धान्न संघर्ष गरिरहेको छ। घरखर्च, शिक्षा, स्वास्थ्य, खाद्यान्न र भविष्यको चिन्ताले सामान्य परिवारलाई थिचिरहेको छ। आम्दानी सीमित छ, आवश्यकता बढिरहेका छन्। महिनाको अन्त्य आउनुअघि नै धेरै परिवारको बजेट सकिन्छ।
यही वास्तविकताबीच राजनीतिक बहस भने प्रायः सत्ता, पद, गुट र नेतृत्वको वरिपरि घुमिरहेको देखिन्छ।राजनीति लोकतन्त्रको आधार हो। देश सञ्चालनका लागि राजनीति आवश्यक छ। तर राजनीतिको केन्द्रमा जनता छैनन् भने राजनीति आफैंमा उद्देश्य बन्न पुग्छ। जनताले राजनीति आफ्नो जीवन सहज बनाउन चाहन्छन्, राजनीति स्वयं जीवनको बोझ थप्ने माध्यम बनोस् भनेर होइन।यसको सबैभन्दा ठूलो उदाहरण किसान हो। माटोसँग आफ्नो जीवन जोडेको किसानले घामपानी नभनी खेतमा पसिना बगाउँछ। उसले देशका लागि अन्न उत्पादन गर्छ। तर खेती गर्न मल चाहिन्छ, बीउ चाहिन्छ, सिँचाइ चाहिन्छ, बजार चाहिन्छ। उत्पादन भयो भने पनि उचित मूल्य पाइन्छ कि पाइँदैन भन्ने अर्को चिन्ता हुन्छ। ऋण लिएर खेती गर्ने किसानका लागि एक वर्षको खराब उत्पादन केवल कृषि समस्या होइन, परिवारको भविष्यसँग जोडिएको संकट हो।अर्कोतर्फ, गाउँका युवाको हातमा सीप छ, सपना छ, काम गर्ने उमेर र क्षमता छ। तर आफ्नै देशमा पर्याप्त अवसर नहुँदा विदेशिनुपर्ने बाध्यता छ। एउटा युवा विदेश जाँदा केवल एउटा व्यक्ति जाँदैन,घरको एउटा सपना, आमाबुबाको एउटा भरोसा र गाउँको एउटा सम्भावना पनि बाहिरिन्छ।यही कारण आज जनताको मनमा प्रश्न जन्मिएको छ,देशमा यति धेरै राजनीति हुँदा पनि रोजगारी किन सिर्जना भएन? उत्पादन किन बढेन? किसान किन सुरक्षित भएन? सामान्य नागरिक किन अझै भविष्यप्रति ढुक्क हुन सकेन ?जनताको चाहना असम्भव छैन। उनीहरूलाई ठूलो,ठूलो भाषण आवश्यक छैन। उनीहरूलाई मेहनतको सम्मान, कामको अवसर, उत्पादनको उचित मूल्य, सहज स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, सुरक्षित सडक, न्यायपूर्ण राज्य र आफ्नै देशमा भविष्य बनाउने वातावरण चाहिएको छ।जनताको सबैभन्दा ठूलो पीडा गरिब हुनु मात्र होइन; आफ्नो मेहनतले जीवन बदलिन्छ भन्ने विश्वास कमजोर हुँदै जानु हो। किसानले खेती गरेर पनि असुरक्षित महसुस गर्नु, युवाले पढेर पनि रोजगारी नपाउनु, श्रमिकले दिनभर काम गरेर पनि परिवारको आवश्यकता पूरा गर्न नसक्नु र अभिभावकले आफ्ना सन्तानको भविष्यबारे चिन्तित भइरहनु,यी सबै विकासका तथ्यांकभन्दा गहिरा सामाजिक प्रश्न हुन्।अब जनताले परिणाम खोजिरहेका छन्,अब समय केवल गुनासो गर्ने होइन, जवाफ माग्ने र जिम्मेवारी खोज्ने समय हो।राजनीतिक नेतृत्वसँग स्पष्ट आग्रह छ,सत्ता र पदको समीकरणभन्दा माथि उठेर जनताको जीवनलाई राजनीतिको पहिलो प्राथमिकता बनाऊ। किसानलाई समयमा मल, बीउ, सिँचाइ र बजार देऊ। श्रमिकको श्रमलाई सम्मान र उचित पारिश्रमिक सुनिश्चित गर। युवालाई विदेशिन बाध्य बनाउने होइन, स्वदेशमै रोजगारी र उद्यमको वातावरण निर्माण गर। शिक्षा र स्वास्थ्यलाई पहुँचवालाको सुविधा होइन, प्रत्येक नागरिकको अधिकार बनाऊ।राज्यका नीति र बजेट कागजमा मात्र सीमित नरहून्; ती गाउँको खेत, श्रमिकको घर, विद्यार्थीको कक्षाकोठा र बिरामीको उपचारस्थलसम्म पुगून्।आम नागरिकले पनि अब राजनीतिलाई केवल व्यक्ति, दल र चुनावको चश्माबाट होइन, जनताको जीवनमा आएको परिणामबाट हेर्नुपर्छ। प्रश्न गर्नुपर्छ, तथ्य खोज्नुपर्छ र जवाफदेहिता माग्नुपर्छ।हामीलाई राजनीति चाहिन्छ,तर जनताको पक्षमा उभिने राजनीति। हामीलाई विकास चाहिन्छ’तर कागजमा होइन, जीवनमा देखिने विकास। हामीलाई समृद्धि चाहिन्छ,तर केही मानिसको सुविधामा होइन, सामान्य नागरिकले महसुस गर्ने समृद्धि।किनकि अन्ततः देशको वास्तविक मुहार सिंहदरबारका भवनले देखाउँदैनन्। त्यो किसानको खेतमा, मजदुरको घरमा, आमाको चिन्तामा, युवाको सपनामा र साँझ घर फर्किएको नागरिकको अनुहारमा देखिन्छ।
जनताको चुलो बल्दैन भने विकास अधुरो छ। किसान सुरक्षित हुँदैन भने समृद्धि अधुरो छ। युवाले भविष्य देख्दैन भने राजनीति अधुरो छ। अब नेतृत्वले जनताको आवाज सुन्ने मात्र होइन, कामबाट जवाफ दिनुपर्छ। र नागरिकले पनि प्रश्न गर्न छोड्नु हुँदैन।किनकि जनताको चुलो निभिरहँदा राजनीति मात्र तातिरह्यो भने, त्यो लोकतन्त्रको सफलता होइन,जनताको पीडामाथि उभिएको राजनीतिको विडम्बना हो।अब राजनीति तात्ने होइन, जनताको चुलो बल्ने समय हो।
