मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि सवारी आवागमन एकतर्फी बनाइएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सिमलतालको चेनएज क्षेत्रमा सडकको छेउतर्फको भाग भासिएको हो। सडक भासिएपछि उक्त स्थानमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।
सडक डिभिजन कार्यालयले सडकको अवस्थालाई ध्यानमा राख्दै चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ।
यस सडकखण्डमा पछिल्ला दिनमा वर्षाका कारण विभिन्न स्थानमा पहिरो तथा सडकको भाग क्षतिग्रस्त हुने समस्या देखिँदै आएको छ। आइतबार पनि नाम्सी खोलास्थित पुल क्षेत्रमा पहिरो तथा लेदो खसेपछि केही समय सडक अवरुद्ध भएको थियो।
सडकको अवस्था थप बिग्रन सक्ने भएकाले सिमलताल क्षेत्र हुँदै यात्रा गर्ने सवारीचालक तथा यात्रुले सडकको पछिल्लो अवस्था बुझेर सावधानी अपनाउनुपर्ने देखिन्छ।
