लगातारको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–२४ धापाखेलमा एक घर ढलेर पूर्ण रूपमा क्षति भएको छ। सोमबार बिहान स्थानीय सोवितकुमार थापाको साढे दुईतले पक्की घर ढलेको हो।
अविरल वर्षाका कारण जमिन गलेर भिरालो सतहमा बनेको घर अचानक ढल्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ललितपुर प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
प्रहरी र स्थानीयको पूर्वसतर्कताले ठूलो दुर्घटना टर्यो
घर जोखिममा रहेको विषयमा पहिले नै पहिचान भइसकेकाले आइतबार नै घरधनीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको प्रहरीले जनाएको छ। प्रहरीको पूर्वसतर्कता र आग्रहबमोजिम घर खाली गराइएका कारण यति ठूलो दुर्घटना हुँदा पनि कुनै पनि मानवीय क्षति हुनबाट जोगिएको छ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले प्रभावित क्षेत्रको वस्तुस्थितिको अनुगमन गरिरहेको छ। निरन्तरको वर्षाका कारण आसपासका अन्य घरहरूमा पनि जोखिम हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले सो क्षेत्रमा निगरानी तीव्र बनाएको छ।
मौसमजन्य विपद्को जोखिम अझै कायमै रहेकाले भिरालो तथा कमजोर भू-बनोट भएका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन प्रहरीले अपिल गरेको छ।
