सुस्तामा वर्षाको कहर! बस्ती-बस्तीमा डुबान, जनजीवन अस्तव्यस्त

१० आश्विन २०८३, शनिबार १२:३३

अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का अधिकांश बस्तीहरू डुबानमा परेका छन्। नदीको जलसतह बढेपछि थारू टोलबाट बस्ती पसेको बाढीले थारू टोल, सैनिक टोल, बड्की टोल र क्याम्प टोल पूर्ण रूपमा जलमग्न भएका हुन्।

स्थानीय मुन्सीकुमार हरिजनका अनुसार बाढीका कारण सुस्ताका करिब २५० घर डुबानमा परेका छन्। घरहरूमा पानी पसेपछि प्रभावित बासिन्दाहरू अग्लो स्थानमा रहेका छिमेकीका घर तथा सामुदायिक विपद् व्यवस्थापन समितिले निर्माण गरेको सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन्।

नारायणी नदीमा पानीको बहाब तीव्र गतिमा बढिरहेको छ। शुक्रबार बिहान ९२ हजार क्युसेक रहेको गण्डक ब्यारेजको पानीको बहाब शनिबार बढेर प्रतिसेकेन्ड २ लाख ८० हजार क्युसेक पुगेको छ। जलसतह निरन्तर बढ्दो क्रममा रहेकाले थप क्षेत्र डुबानमा पर्ने उच्च जोखिम छ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार बाढीको उच्च जोखिममा परेका १६३ जना स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। स्थितिमाथि निरन्तर निगरानी राख्दै उद्धार तथा सुरक्षाका उपायहरू अपनाइएको प्रशासनले जनाएको छ।