निरन्तरको भारी वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिद्धबाबा मन्दिर नजिकै ठूलो पहिरो खसेपछि शुक्रवार बिहानदेखि यातायात आवागमन ठप्प भएको हो।
नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, लुम्बिनी प्रदेशका अनुसार वर्षासँगै माथिबाट खसेको लेदो र पहिरोका कारण सडक सञ्चालन गर्न सकिएको छैन। मौसम पूर्वानुमान महाशाखाले देशभर भारी वर्षाको चेतावनी दिएसँगै सम्भावित जोखिमलाई ध्यानमा राखी बिहीबार साँझदेखि नै उक्त सडकमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो।
तिनाउ नदी थुनियो, बस्ती खाली गर्न आग्रह
यसैबीच, सिद्धबाबामा खसेको पहिरोले तिनाउ नदीको बहाव थुनिएपछि तटीय क्षेत्रमा बाढी र डुबानको ठूलो जोखिम बढेको छ। बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रा अर्यालले नदी किनारका बासिन्दाहरूलाई जतिसक्दो छिटो सुरक्षित स्थानमा सर्न सार्वजनिक रूपमा अपिल गर्नुभएको छ।
बाढी पूर्वानुमान महाशाखाले बिहान साढे ११ बजेको मापन अनुसार तिनाउ नदी (बुटवल जलमापन केन्द्र) मा जलसतहले सतर्कता तह पार गरिसकेको र अझै बढ्दो क्रममा रहेको जनाएको छ। महाशाखाले नदी तटीय क्षेत्र तथा होचा भूभागमा बस्नेहरूलाई पर्सी बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यात्रा नगर्न प्रशासनको सूचना
जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि नै भइरहेको अविरल वर्षाका कारण नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सजग रहन सूचना जारी गरेको छ। मौसम प्रतिकूल रहेकाले सकेसम्म लामो दूरीको यात्रा नगर्न र गर्नै परेमा सडकको अवस्था र सुरक्षा सम्बन्धी जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
