साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ११.७७ अंकले बढेको छ। आजको वृद्धिसँगै नेप्से परिसूचक २६२९ अंकमा पुगेको छ।
नेप्से बढे पनि बजारको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ।
आज कुल १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो।
उत्पादन तथा प्रशोधन समूहमा आकर्षण
समूहगत कारोबारतर्फ उत्पादन तथा प्रशोधन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। उक्त समूहको सूचक १.८३ प्रतिशतले बढ्दै सबैभन्दा धेरै वृद्धि भएको समूह बनेको छ।
नेपाल ल्युब आयल, सोनापुर मिनरल्स, घोराही सिमेन्ट र पाल्पा सिमेन्टलगायत कम्पनीको सेयर मूल्यमा भएको वृद्धिले उत्पादन तथा प्रशोधन समूहको सूचक उकासिएको हो।
निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहगत सूचक बढेका छन्। निर्जीवन बीमा ०.३३ प्रतिशत घट्दा बैंकिङ ०.४६, विकास बैंक ०.०१, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.१३, लगानी ०.०८, जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.६१, अन्य ०.०४ र व्यापार समूह ०.९७ प्रतिशतले बढेका छन्।
यी कम्पनीको मूल्यमा उल्लेख्य वृद्धि
आज नेपाल ल्युब आयलको सेयर मूल्य १२.४७ प्रतिशत, सोनापुर मिनरल्सको ७.६५ प्रतिशत, घोराही सिमेन्टको ७.०७ प्रतिशत, सीवाईसी लघुवित्तको ६.४७ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ४.६७ प्रतिशतले बढेको छ।
त्यस्तै, पाल्पा सिमेन्ट ३.६० र त्रिशूली जलविद्युत्को सेयर मूल्य ३.०४ प्रतिशतले बढेको छ।
अर्कोतर्फ, मिड सोलु हाइड्रोपावरको मूल्य ११.५८ प्रतिशत र धौलागिरि लघुवित्तको १०.९८ प्रतिशतले घटेको छ। हाथवे इन्भेस्टमेन्टको मूल्य पनि ३.४३ प्रतिशतले ओरालो लागेको छ।
कारोबारमा शिवम् सिमेन्ट अगाडि
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, सानिमा मिडिल तमोर, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर सिमेन्ट, नबिल बैंक प्रमोटर र लक्ष्मी सनराइज बैंक अगाडि रहे।
समग्रमा नेप्से परिसूचक बढे पनि कारोबार रकममा आएको कमीले बजारमा कारोबारको गति भने अघिल्लो दिनको तुलनामा केही खस्किएको देखिएको छ।
