बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण गएरातिदेखि देशका धेरै भागमा लगातार झरी परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि शुक्रबारदेखि आइतबारसम्म देशभर भीषण वर्षा हुने सम्भावना छ।
पछिल्लो २४ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा मुसलधारे वर्षा भएको छ। महाशाखाको तथ्याङ्क अनुसार पाल्पामा १६० मिलिमिटर र कपिलवस्तुमा १२५ मिलिमिटरभन्दा बढी पानी परिसकेको छ। मौसमविदहरूका अनुसार आजदेखि वर्षाको क्रम अझ बढ्नेछ भने केही ठाउँमा ‘आरीघोप्टे’ (अति भारी) वर्षाको समेत जोखिम रहेको छ।
कुन-कुन प्रदेशमा छ बढी जोखिम ?
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका क्षेत्रमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ। बाँकी भू-भागमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
लगातारको वर्षाका कारण पहिरो जाने, नदी तथा खोलामा बाढी आउने र हवाई तथा सडक यातायात प्रभावित हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
मन्त्रालय र निकायहरूको तयारी तथा निर्देशन
-
शिक्षा मन्त्रालय: सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित पालिकाहरूसँगको समन्वयमा आज र भोलि आवश्यकता अनुसार विद्यालय बिदा गर्न तथा सञ्चालित परीक्षाहरू स्थगित गर्न आग्रह गरेको छ।
-
स्वास्थ्य मन्त्रालय: देशभरका अस्पतालहरूलाई आवश्यक व्यवस्थापनसहित उच्च तयारी (हाई अलर्ट) अवस्थामा रहन निर्देशन दिएको छ।
-
विपद् व्यवस्थापन प्राधिकरण: अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न अपिल गरेको छ। साथै, बाढीको समयमा टिकटक बनाउने, भिडियो खिच्ने वा खोलामा दाउरा बटुल्ने जस्ता जोखिमपूर्ण काम नगर्न आग्रह गरिएको छ।
-
कृषि तथा पर्यटन: जोखिमयुक्त क्षेत्रका पर्यटकलाई सुरक्षित ठाउँमा सर्न र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ। किसानहरूलाई खेतबारी र बगैँचामा पानी निकासको व्यवस्था मिलाउन सुझाव दिइएको छ।
एसएमएस (SMS) एलर्ट र सडक खुलाउन डोजर तैनाथ
सरकारले भोलिदेखि तीन दिनसम्म नदीहरूको अवस्था र विपद्को जोखिमबारे हरेक घण्टा सूचना अद्यावधिक गर्ने भएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा विपद्को चेतावनी दिने ‘SMS Alert’ पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले अनुरोध गरेको छ।
मुख्य राजमार्गहरूमा आउन सक्ने पहिरो पन्छाउन डोजरहरू तयारी अवस्थामा राखिएको छ भने देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) र सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ।
