नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा थप सुरक्षण विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकका अनुसार ‘सिरिज २०२५’ को नयाँ नोट साविककै आकारमा भए पनि यसको रङ तथा डिजाइनमा परिवर्तन गरिएको छ। नोटमा बैजनी घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ।
नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप र ‘१०००’ अंकित पानीछाप राखिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सकून् भनेर रोमन अक्षर ‘M’ र तेर्सा रेखा समेत राखिएका छन्।
त्यस्तै, नोटमा हेर्ने कोणअनुसार रङ परिवर्तन हुने भगवतीको चित्र र रातोबाट हरियो देखिने विशेष सुरक्षण धागो राखिएको छ। नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ।
नोटको पछाडिपट्टि भने चितवनमा देवकली हात्तीबाट जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। साथै, नेपालको सात प्रदेशलाई प्रतिनिधित्व गर्ने सातवटा लालीगुराँस र हनुमानढोकास्थित ल्होँचोकको ऐतिहासिक थामको आकृति समेटिएको छ।
राष्ट्र बैंकले नयाँ नोट प्रचलनमा ल्याए पनि यसअघि चलनचल्तीमा रहेका १ हजार रुपैयाँका नोटहरू पनि मान्य रहने स्पष्ट पारेको छ।

