काठमाडौँ उपत्यकामा हुने आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले ‘स्विप अपरेसन’लाई तीव्र बनाएको छ। सोही अपरेसनका क्रममा पछिल्लो २४ घण्टाभित्र काठमाडौँका विभिन्न स्थानबाट १२१ जनालाई पक्राउ गरिएको छ।
असोज ६ गतेदेखि असोज ७ गते बिहान ६ बजेसम्म सञ्चालित अभियानमा सार्वजनिक स्थल, यातायातका साधन र सरकारी कार्यालय आसपास सर्वसाधारणलाई दुःख दिने, हुलहुज्जत गर्ने, चोरी, लुटपाट, गुण्डागर्दी तथा बिचौलियागिरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्। यसका साथै अदालतबाट सजाय तोकिएर फरार रहेका अभियुक्तहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
अदालतको फैसला कार्यान्वयन र फरार प्रतिवादी
पक्राउ परेकाहरूमध्ये अदालतको निर्णय कार्यान्वयनतर्फ १९ जना रहेका छन्। उनीहरूबाट कुल रु. ३८ लाख ९१ हजार ५७५ जरिवाना र ३ वर्ष ६ महिना २ दिन कैद सजाय असुलउपर गर्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
त्यसैगरी, चालु मुद्दामा फरार रहेका ४ जना र फरार कैदीबन्दी/थुनुवातर्फ १ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेको विवरण
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अपरेसनका क्रममा पक्राउ परेका १२१ जनामध्ये १०५ जना पुरुष, १५ जना महिला र १ जना अन्य लिङ्गी रहेका छन्।
प्रहरीको अपील: १०० मा खबर गर्नुस्
उपत्यकाको सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउन प्रहरीले नागरिक सहकार्यमा जोड दिएको छ। आफ्नो टोल वा छिमेकमा आपराधिक गतिविधिमा संलग्न व्यक्ति, अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिहरू लुकिछिपी बसेको जानकारी भएमा नडराई प्रहरीको नि:शुल्क हटलाइन नम्बर १०० मा सूचना दिन जिल्ला प्रहरी परिसर काठमाडौँले सर्वसाधारणसँग आग्रह गरेको छ।
