प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन न्युयोर्कतर्फ प्रस्थान गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री वाग्लेलाई प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक तथा कार्यकारी कार्यहरू सञ्चालन गर्ने गरी कार्यवाहक प्रधानमन्त्री नियुक्त गर्नुभएको हो।
प्रधानमन्त्री मङ्गलबार साँझ ७:०० बजे कतार एयरवेजको उडानबाट अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ। उहाँले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र सेप्टेम्बर २६ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको भ्रमण अवधिभर डा. वाग्लेले अर्थ मन्त्रालयका साथै प्रधानमन्त्रीको मातहतमा रहेको रक्षा मन्त्रालय र परराष्ट्रमन्त्री शिशिर खनालको अनुपस्थितिमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुहुनेछ। विदाइका क्रममा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री शाहलाई पल केनेडीद्वारा लिखित चर्चित पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ (The Rise and Fall of the Great Powers) उपहार स्वरूप प्रदान गर्नुभएको थियो।
