विमानस्थलमा ओछ्याइने रातो कार्पेट, सैनिक टुकडीको ‘गार्ड अफ अनर’ (सलामी) अनि बिदा गर्न लामबद्ध हुने मन्त्री र कूटनीतिज्ञहरूको लस्कर—विगतका प्रधानमन्त्रीहरूको विदेश भ्रमणमा देखिने यी दृश्यहरू यसपटक भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने छैनन्।
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले परम्परागत कूटनीतिक प्रोटोकल तोड्दै सादगीपूर्ण बाटो रोजेका छन्। प्रधानमन्त्री बनेपछिको यो उनको पहिलो विदेश यात्रा हो।
किन गरियो तडकभडक रद्द ?
भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र पहिरोका कारण सिङ्गो देश शोकमा छ। बाढीका कारण १ हजार ४ सय ५ि५ भन्दा बढीको ज्यान गइसकेको र हजारौँ बेपत्ता रहेको अवस्थामा औपचारिक बिदाइ समारोह गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले कुनै पनि तामझाम नगर्न निर्देशन दिएका हुन्।
भ्रमणका मुख्य विशेषताहरू:
विमानस्थलमा छैन बिदाइ समारोह: मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख वा विदेशी कूटनीतिज्ञहरूलाई विमानस्थल बोलाइएको छैन। प्रधानमन्त्री भीआईपी वे हुँदै सिधै जहाजसम्म पुग्नेछन्।
छरितो भ्रमण टोली: भ्रमण दलमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, एक निजी फोटोग्राफर, दुई सुरक्षाकर्मी र एक शिष्टाचार अधिकृत मात्र रहनेछन्।
महासभालाई सम्बोधन: प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रसंघको ‘जनरल डिबेट’लाई सम्बोधन गर्दै विपद्को यो कठिन घडीमा नेपालको धारणा विश्वमञ्चमा राख्नेछन्। लगत्तै उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्।
अन्य द्विपक्षीय भेटघाट रद्द: यसपटक अन्य देशका सरकार प्रमुखहरूसँग कुनै द्विपक्षीय भेटवार्ता नगर्ने निर्णय भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्युयोर्क पुगिसकेका छन्। राष्ट्रसंघमा नेपालको तर्फबाट महत्वपूर्ण उपस्थिति जनाएर प्रधानमन्त्री शाह आगामी शनिबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
