असोज ९ देखि ११ सम्म भारी वर्षाको जोखिम: रातिको समयमा यात्रा नगर्न सरकारको आग्रह

६ आश्विन २०८३, मंगलवार १०:४२

आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सरकारले उच्च सतर्कता अपनाउन र रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार, उत्तर अन्डमान सागर र बंगालको खाडीको मध्य भूभागमा विकसित शक्तिशाली न्यून चापीय प्रणाली पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा छ। यसकै प्रभावले बुधबारदेखि नै कोसी, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षा सुरु भई असोज ९ देखि ११ गतेसम्म देशभरि नै भारी वर्षाको रूप लिने देखिएको छ।

विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको जोखिम छ। त्यसैगरी कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा समेत भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागको आकलन छ।

बाढी र पहिरोको जोखिम, रातिको यात्रा रोक्न निर्देशन

भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव (debris flow), तराई तथा सहरी क्षेत्रमा डुबान र नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहने राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै असोज ९ देखि ११ गतेसम्म अत्यन्त जरुरी कामबाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न सर्वसाधारणसँग विशेष अनुरोध गरेको छ।

सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तिनवटै सुरक्षा निकाय तथा स्वयंसेवकहरूलाई उच्च सतर्क अवस्थामा रहन भनिएको छ। अवरुद्ध हुनसक्ने राजमार्गहरूमा तत्काल पहिरो हटाई यातायात सुचारु राख्न प्रमुख सडक खण्डहरूमा डोजर, एक्साभेटर र लोडर जस्ता उपकरणहरू तयारी अवस्थामा राख्न निर्देशनसमेत दिइएको छ।

साथै, बाढी र पहिरोको उच्च जोखिममा रहेका बस्तीका बासिन्दाहरूलाई पूर्वसूचना पाउनासाथ सुरक्षित स्थानमा स्थानान्तरण हुन र नदी तथा खहरे किनारका बासिन्दालाई विशेष चनाखो रहन प्राधिकरणले आग्रह गरेको छ।