काठमाडौँको राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसभित्र भएको आगलागी र आत्मदाह प्रयासको घटनाबारे छानबिन गर्न प्रहरीले उच्चस्तरीय समिति गठन गरेको छ। घटना हुनुअघि ट्राफिक प्रहरी र बस चालकबीच भएको विवादको भिडियो सार्वजनिक भएसँगै प्रहरीको भूमिकामाथि छानबिन सुरु गरिएको हो।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन पाँच दिनको समय सीमा दिइएको छ।
प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा भाइरल भिडियोका अनुसार बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र खटिएका ट्राफिक प्रहरी टोलीबीच तीव्र भनाभन भएको थियो। आगलागीबाट गम्भीर घाइते भएका चालक लामाको हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ।
यसअघि पनि त्रिपुरेश्वर क्षेत्रमै पठाओ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। छोटो समयमै घटेका यस्ता गम्भीर घटनाहरूले नागरिक र राज्यका सुरक्षा संयन्त्रबीचको व्यवहार, कार्यशैली तथा सर्वसाधारणका गुनासो सम्बोधन गर्ने सरकारी संयन्त्रको अवस्थामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।
