नेपालमा उत्साहका साथ मनाइँदै ‘संविधान दिवस’

३ आश्विन २०८३, शनिबार ०८:३३

नेपालमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ देशभर मनाइँदै छ। २०७२ साल असोज ३ गते संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ।

यस अवसरमा आयोजना गरिने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षलगायत राज्यका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ। संघसँगै प्रदेश र स्थानीय सरकार, गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज तथा विभिन्न संघ-संस्थाहरूले पनि आ-आफ्नो स्तरमा विविध कार्यक्रम गरी दिवस मनाइरहेका छन्। साथै, दिवसका अवसरमा शीर्ष नेताहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको मर्म अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।