पद ठुलो कुरा होइन, परिचयको माध्यम होः जनताको सेवा र परिणाम ठुलो हो ।

१७ भाद्र २०८३, बुधबार १६:०३

नेपालमा कर्मचारी भनेको जनताले तिरेको करबाट तलब खाने राज्यको स्थायी सेवक हो । सरकार आउँछन्, सरकार जान्छन्, मन्त्री फेरिन्छन्,राजनीतिक दल र गठबन्धन बदलिन्छन्, तर कर्मचारी प्रशासन राज्यको निरन्तर चल्ने संयन्त्र हो । त्यसैले देश कस्तो बन्छ भन्ने प्रश्नको उत्तर केवल नेताले के गरे भन्नेमा मात्र खोजेर पुग्दैन, सरकारी कार्यालयको कुर्सीमा बसेको कर्मचारीले जनतासँग कस्तो व्यवहार गर्‍यो, कति काम गर्‍यो र नागरिकको जीवन कति सजिलो बनायो भन्ने प्रश्नको उत्तरमा पनि खोज्नुपर्छ । यही कारणले अहिले कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई लिएर उठेको बहसलाई एउटा व्यक्तिको सरुवा वा एउटा सामाजिक सञ्जालको स्टाटसमा मात्र सीमित गर्नु हुँदैन; यसलाई नेपालको प्रशासनिक संस्कार र कर्मचारीतन्त्रको जवाफदेहितामाथि उठेको ठूलो,प्रश्नका,रूपमा,हेर्नुपर्छ,,सार्वजनिक,,विवरणअनुसार निरौला हाल कोशी प्रदेश सरकारका प्रदेश सचिव हुन् । उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र खाद्य प्रविधिमा स्नातक तहसम्म अध्ययन गर्नुभएको तथा धरानको हात्तीसार क्याम्पस, हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पस र विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा लामो समय अध्यापन गर्नुभएको विवरण प्रकाशित भएको छ । स्थानीय तहको योजना निर्माण, क्षमता विकास र मापदण्ड निर्धारणमा प्रदेश तथा संघीय सरकारको विज्ञका रूपमा काम गरेको तथा कोशी प्रदेशको दोस्रो आवधिक योजना निर्माणमा पनि भूमिका निर्वाह गरेको विवरणसमेत सार्वजनिक छ ।त्यसैले निरौलाजीलाई सामान्य कर्मचारी भनेर मात्र हेर्न मिल्दैन । उहाँसँग अध्ययनको पृष्ठभूमि छ, अध्यापनको अनुभव छ, प्रशासनिक जिम्मेवारी सम्हालेको अनुभव छ र योजना निर्माणसँग जोडिएको अनुभव पनि छ । उहाँ मोरङको प्रमुख जिल्ला अधिकारीका रूपमा कोभिड–१९ को कठिन समयमा काम गर्नुभएको थियो । अहिले रसुवामा आएको विपद्पछि शव व्यवस्थापनको विषयमा उहाँले आफ्नै विगतको अनुभव सम्झँदै सामाजिक सञ्जालमार्फत सरकारलाई सुझाव दिनुभयो । उहाँले कोभिडको समयमा परिवारलाई अन्तिमपटक आफ्नो आफन्तको अनुहार हेर्न दिने र धार्मिक तथा सांस्कृतिक संस्कारलाई सम्भव भएसम्म सम्मान गर्ने विषयमा आफूले काम गरेको अनुभव उल्लेख गर्नुभएको समाचारमा आएको छ । त्यसको भोलिपल्ट संघीय सरकारले उहाँलाई रसुवाको टिमुरे क्षेत्रमा शव व्यवस्थापन तथा विपद्सम्बन्धी समन्वयको जिम्मेवारीसहित खटाएको छ अब यो निर्णयलाई कसैले पुरस्कार भनून्, कसैले चुनौती भनून्, कसैले संयोग भनून् वा कसैले उहाँले दिएको सल्लाहलाई व्यवहारमा परीक्षण गर्ने अवसर भनून्,मेरो दृष्टिमा यसको सबैभन्दा सुन्दर पक्ष एउटै छ, अब उहाँले आफूले बोलेको कुरा कामबाट देखाउने अवसर पाउनुभएको छ । उहाँले आफूलाई अनुभव भएको बताउनुभएको छ, राज्यले पनि त्यही अनुभव भएको ठाउँमा जिम्मेवारी दिएको छ । अब जनताले हेर्न चाहेको कुरा धेरै सरल छ—उहाँले त्यो जिम्मेवारी कति मानवीय ढंगले पूरा गर्नुहुन्छ, पीडित परिवारको दुःख कति बुझ्नुहुन्छ, हराइरहेका मानिसको खोजीमा कति प्रभावकारी समन्वय गर्नुहुन्छ, पहिचान नखुलेका शवको व्यवस्थापनमा कति संवेदनशीलता देखाउनुहुन्छ र स्थानीय संस्कार, संस्कृति तथा मानवीय भावनालाई कति सम्मान गर्नुहुन्छ ।

किनकि वास्तविक विज्ञता ठूलो कुरा गरेर प्रमाणित हुँदैन । वास्तविक विज्ञता त्यतिबेला देखिन्छ, जब एउटा दुःखी परिवारले तपाईंको कामबाट राहत पाउँछ जब एउटा गरिब नागरिकले सरकारी कार्यालयमा अपमान होइन सम्मान पाउँछ । जब एउटा आमाले आफ्नो हराएको छोराको खबर पाउँछिन् । जब एउटा बाबुले आफ्नो सन्तानको अन्तिम संस्कार आफ्नो संस्कारअनुसार गर्न पाउँछन् । जब विपद्मा परेको नागरिकले सरकार आफूहरूसँगै छ भन्ने अनुभूति गर्छ । त्यही क्षण कर्मचारीको पदभन्दा उसको काम ठूलो हुन्छ ।हामीले यही कुरा सम्पूर्ण कर्मचारीतन्त्रलाई पनि भन्नुपर्छ । सरकारी कर्मचारी हुनु भनेको जनताभन्दा माथि हुनु होइन । सचिव हुनु भनेको सर्वज्ञ हुनु होइन । वर्षौँ सरकारी सेवामा बसेको हुनु भनेको संसारको सबै ज्ञान आफूलाई मात्र थाहा छ भन्ने प्रमाण होइन । समाज बदलिरहेको छ, प्रविधि बदलिरहेको छ, नागरिकको चेतना बदलिरहेको छ । त्यसैले कर्मचारीले पनि निरन्तर पढ्नुपर्छ, सिक्नुपर्छ, जनताको वास्तविक जीवन बुझ्नुपर्छ र आफ्नो कामको परिणाम हेर्नुपर्छ । केवल कार्यालयमा समय बिताउनु, फाइलमा हस्ताक्षर गर्नु र आफूलाई ठूलो पदमा पुगेको सम्झनु मात्र प्रशासनिक सेवा होइन । प्रशासनिक सेवा भनेको जनताको दुःखलाई आफ्नो जिम्मेवारी सम्झनु हो ।हाम्रो गरिब किसानलाई सिंहदरबारको ठूलो नीति भन्दा आफ्नो जग्गाको कागज समयमा चाहिएको हुन्छ । गाउँबाट आएको वृद्धलाई लामो भाषण होइन, एउटा सामान्य सिफारिस छिटो चाहिएको हुन्छ । विद्यार्थीलाई सरकारी कागज बनाउन महिनौँ धाउन नपरोस् भन्ने चाहना हुन्छ । बेरोजगार युवालाई एउटा प्रमाणपत्र वा प्रक्रिया पूरा गर्न कार्यालयको ढोका,ढोका धाउन नपरोस् भन्ने चाहना हुन्छ । बाढीपहिरोले घर गुमाएको परिवारलाई कागजको प्रक्रिया भन्दा पहिले राज्यले आफूलाई हेरेको अनुभूति चाहिन्छ । यही सानो,सानो ठाउँमा राज्यको वास्तविक अनुहार देखिन्छ,तर दुर्भाग्य, हामीकहाँ धेरैपटक जनताले राज्यको कार्यालयमा सेवा लिन जाँदा आफू नै अपराधी जस्तो महसुस गर्नुपर्ने अवस्था आएको छ । एउटा टेबलबाट अर्को टेबल, एउटा कोठाबाट अर्को कोठा, आज आउनुस्, भोलि आउनुस्, फाइल पुगेको छैन, साहेब हुनुहुन्न, हस्ताक्षर भएको छैन,यस्ता सामान्य बहानाले नागरिकको समय, पैसा र सम्मान सबै खेर जाने गरेको जनगुनासो छ । अझ कतिपय ठाउँमा पहुँच र बिचौलियाबिना काम हुँदैन भन्ने धारणा बन्नु झन् खतरनाक हो । यदि राज्यको सेवा पाउन नागरिकले आफ्नो अधिकार होइन, चिनजान खोज्नुपर्ने अवस्था आयो भने त्यो प्रशासनको मात्र कमजोरी होइन, लोकतान्त्रिक राज्यप्रतिको विश्वासमाथि लागेको चोट हो ।त्यसैले अब कर्मचारीको मूल्यांकन पनि बदलिनुपर्छ । कति वर्ष सेवा गर्‍यो, कुन पदमा पुग्यो, कति पटक सरुवा भयो भन्ने मात्र होइन, उसले जनताको कति काम गर्‍यो भन्ने पनि हेर्नुपर्छ । उसले कति फाइल चलायो भन्दा कति समस्या समाधान गर्‍यो भन्ने हेर्नुपर्छ । उसले कति आदेश दियो भन्दा कति नागरिकलाई राहत दियो भन्ने हेर्नुपर्छ । उसको टेबलमा कति मानिस आए भन्दा उसको कामपछि कति मानिस सन्तुष्ट भएर फर्किए भन्ने हेर्नुपर्छ ।

निरौलाजीको अहिलेको जिम्मेवारीले यही परीक्षा सुरु गरेको छ । उहाँले सामाजिक सञ्जालमा आफूले विगतमा गरेको कामको अनुभव प्रस्तुत गर्नुभएको थियो । अहिले राज्यले उहाँलाई त्यही विषयसँग जोडिएको वास्तविक मैदानमा पठाएको छ । त्यसैले यो अवसरलाई विवादको विषयभन्दा क्षमता प्रमाणित गर्ने अवसर बनाउनु उहाँकै हातमा छ । उहाँ सफल हुनुहोस् भन्ने हाम्रो चाहना हो, किनकि उहाँ सफल हुनु भनेको एउटा व्यक्तिको सफलता मात्र होइन, विपद्मा परेका नागरिकको पीडा कम हुनु हो !र यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ,हामी कुनैकर्मचारीलाई व्यक्तिगत रूपमा गिराउन चाहँदैनौँ न कुनै प्रमाण नभएको आरोप लगाउन चाहन्छौँ । सार्वजनिक जीवनमा रहेका व्यक्तिका विषयमा प्रश्न उठाउन सकिन्छ, आलोचना गर्न सकिन्छ, तर तथ्यबिना चरित्रमाथि आक्रमण गर्नु पत्रकारिता होइन । त्यसैले निरौलाजीको हकमा पनि हामीले प्रमाणित भएको कुरा मात्र बोल्नुपर्छ र बाँकी कुरा उहाँको कामले प्रमाणित गर्ने ठाउँ दिनुपर्छ तर उहाँसँगै सम्पूर्ण प्रशासनलाई पनि एउटा प्रश्न छ,जनता तपाईंहरूसँग डराउने कि तपाईंहरूमाथि विश्वास गर्ने?कर्मचारीको कुर्सी जनतालाई झुकाउनका लागि होइन, जनताको समस्या समाधान गर्नका लागि हो । राज्यको शक्ति नागरिकमाथि देखाउनका लागि होइन, नागरिकलाई सुरक्षित र सम्मानित बनाउनका लागि हो । सरकारी कार्यालय नागरिकको दुःख थप्ने ठाउँ होइन, दुःख घटाउने ठाउँ हुनुपर्छ ।राजनीतिक नेतृत्वलाई हामीले धेरै प्रश्न गर्‍यौँ ,अब प्रशासनिक नेतृत्वलाई पनि प्रश्न गर्ने बेला आएको छ । सरकार गठबन्धनको होस् वा बहुमतको, प्रधानमन्त्री जोसुकै होऊन्, मन्त्री जुन दलका होऊन्,यदि गाउँको गरिबले सेवा पाएन, वृद्धले सम्मान पाएन, किसानले न्याय पाएन, युवाले अवसर पाएन र विपद्मा परेको परिवारले राज्यको साथ पाएन भने सरकारको संरचना जे भए पनि जनताको पीडा उस्तै रहन्छ ।त्यसैले देशको स्थिरता केवल सरकार टिकेर आउँदैन । जनताको मनमा राज्यप्रतिको विश्वास टिकेपछि मात्र स्थिरता आउँछ । त्यो विश्वास नेताको भाषणले मात्र बनाउँदैन; कार्यालयको टेबलमा बसेको कर्मचारीको,व्यवहारले,,बनाउँछ,,हामीलाई,कर्मचारीतन्त्रसँग झगडा होइन, सुधार चाहिएको छ । इमानदार कर्मचारीलाई सम्मान चाहिएको छ, सक्षम कर्मचारीलाई जिम्मेवारी चाहिएको छ र जनतालाई दुःख दिने कर्मचारीलाई जवाफदेही बनाउने व्यवस्था चाहिएको छ । सरकारी सेवामा काम गर्ने प्रत्येक व्यक्तिले बिहान कार्यालयमा प्रवेश गर्दा एउटा कुरा सम्झनुपर्छ,आज मेरो अगाडि आउने मानिस कुनै फाइल होइन, ऊ एउटा जीवन हो; उसको पछाडि एउटा परिवार छ, उसको आफ्नै दुःख छ, उसको आफ्नै सपना छ ।सायद त्यही दिन हाम्रो प्रशासन साँच्चिकै मानवीय हुनेछ ।त्यसैले कोषहरि निरौलाजीलाई पनि यही शुभकामना,अब आफूले भनेको कुरा कामबाट देखाउनुहोस् । रसुवाको दुःखमा रहेका परिवारको आँसु बुझ्नुहोस्, हराइरहेकाको खोजीमा इमानदार प्रयास गर्नुहोस्, मृतकप्रति सम्मान र जीवितप्रति जिम्मेवारी देखाउनुहोस् । तपाईंले आफ्नो अध्ययन, अनुभव र विज्ञताको जुन परिचय सार्वजनिक जीवनमा बनाउनुभएको छ, त्यसलाई अब जनताको सेवामा परिणाम बनाएर देखाउनुहोस् । राज्यले दिएको यो जिम्मेवारी तपाईंका लागि परीक्षा हो भने हामी चाहन्छौँ,यो परीक्षामा तपाईं सफल हुनुहोस् ।किनकि अन्ततः इतिहासले कर्मचारीको पद सम्झिँदैन, उसले जनताको पीडामा के गर्‍यो भन्ने सम्झिन्छ ।जनताले तपाईंको प्रमाणपत्र हेर्दैनन्, तपाईंको व्यवहार हेर्छन् ।जनताले तपाईंको पद हेर्दैनन्, तपाईंको परिणाम हेर्छन् ।जनताले तपाईंले आफूलाई कति ठूलो ठान्नुभयो भन्ने हेर्दैनन्, आफूलाई कति सानो बनाएर जनताको सेवा गर्नुभयो भन्ने सम्झिन्छन् ।र यही नै एउटा सच्चा कर्मचारीको सबैभन्दा ठूलो परिचय हो.पदमा ठूलो भएर होइन, जनताको दुःखमा उभिएर ठूलो हुनु।