लुम्बिनी तन्दुरी व्यवसाय संघले नुवाकोटको बेलकोटगढी नगरपालिका–८ का बाढीपीडित ६५ परिवारलाई राहत सामग्री वितरण गरेको छ।
बाढीका कारण घरबारसहित सम्पत्ति गुमाएका र हाल होल्डिङ सेन्टरमा आश्रय लिइरहेका पीडित परिवारलाई संघले खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराएको हो। राहतस्वरूप चामल, दाल, नुन, नुहाउने साबुन, कपडा धुने साबुनलगायतका सामग्री वितरण गरिएको संघले जनाएको छ।
वडा नम्बर ८ का वडा अध्यक्ष सुरेशलाल चित्रकारको उपस्थितिमा राहत वितरण कार्यक्रम सम्पन्न भएको थियो।
राहत वितरण कार्यक्रममा लुम्बिनी तन्दुरी व्यवसाय संघका अध्यक्ष सुरज पोखरेल, उपाध्यक्ष हरि पोखरेल, सचिव नमराज पोखरेल, सदस्य नारायण पोखरेल, निवर्तमान उपाध्यक्ष कलाधर अधिकारी, निमित्त कोषाध्यक्ष सागर पौडेल, निमित्त सल्लाहकार ढावनाथ पोखरेल तथा स्थानीय गोविन्दप्रसाद नेपाल लगायतको सहभागिता रहेको थियो।
संघका अध्यक्ष सुरज पोखरेलले बाढीपीडितको सहयोगका लागि विभिन्न तन्दुरी व्यवसायी तथा अन्य व्यवसायी साथीहरूले पुर्याएको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। विपद्को कठिन घडीमा पीडित परिवारको सहयोगका लागि सबैको साथ र सहकार्य महत्वपूर्ण रहेको उनले बताए।
बाढीले घरबार गुमाएका परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा सरसफाइका सामग्री उपलब्ध गराएर केही राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको लुम्बिनी तन्दुरी व्यवसाय संघले जनाएको छ।
