हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवनमा आइतबार मध्यराति भीषण आगलागी भएको छ। राति करिब २ बजे भएको उक्त घटनामा गाउँपालिकाको भवनमा ठूलो क्षति पुग्नुका साथै अत्यावश्यक सरकारी श्रेष्ता तथा कागजात जलेर नष्ट भएका छन्।
स्थानीय नरवीर थापाका अनुसार भवनभित्र गाउँपालिकाका केही कर्मचारीहरू बसोबास गर्दै आएका थिए। मध्यराति अचानक आगलागी भएपछि नजिकै रहेको प्रहरी चौकीको टोली र स्थानीयवासीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए। स्थानीय र प्रहरीको तत्परताका कारण आगो थप फैलन नपाई नियन्त्रणमा आएको हो।
जिन्सी शाखा पूर्ण रूपमा खरानी
आगलागीबाट गाउँपालिकाको जिन्सी शाखामा सबैभन्दा बढी क्षति पुगेको छ। अत्यावश्यक र संवेदनशील कागजातहरू राखिएको उक्त शाखा पूर्ण रूपमा जलेर नष्ट भएको छ।
गाउँपालिकाका प्रशासन तथा जिन्सी शाखा प्रमुख विष्णुलाल सार्कीका अनुसार जिन्सी शाखामा रहेका अधिकांश महत्त्वपूर्ण श्रेष्ता, ढड्डा तथा प्रशासनिक फाइलहरू जलेर खरानी भएका छन्।
विद्युत् सर्ट भएको प्रारम्भिक अनुमान
आगलागीको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। प्रारम्भिक अवस्था हेर्दा विद्युत् सर्ट (Short Circuit) भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
“प्रारम्भिक अध्ययनले विद्युत् सर्ट भएको सङ्केत गरे पनि आगलागीको यकिन कारण भने पूर्ण अनुसन्धानपछि मात्र थाहा हुनेछ,” शाखा प्रमुख सार्कीले भन्नुभयो।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ भने आगलागीबाट भएको कुल भौतिक तथा आर्थिक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।
