सामान्य प्रशासन तथा भूमिसुधार मन्त्री प्रतिभा रावलले देशैभरिको सुकुम्बासी समस्या ५०० दिनभित्र पूर्ण रूपमा समाधान गर्ने घोषणा गरेकी छन्। कञ्चनपुरमा स्थानीय सुकुम्बासी बस्तीका बासिन्दाहरूलाई सम्बोधन गर्दै मन्त्री रावलले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई प्रक्रिया पुर्याएर लालपुर्जा वितरण गरिने दाबी गरिन्।
सम्बोधनका क्रममा उनले नेताहरूलाई काम नगरी सम्मान थाप्ने प्रवृत्तिको विरोध गर्दै आफूलाई स्वागत गर्न तयार पारिएको अबिर र खादा अस्वीकार गरिन्। “तपाईँहरूको समस्या समाधान गरेर आएपछि मात्र म अबिर र खादा लगाउँछु। काम नगरी सम्मान लिनुको कुनै अर्थ छैन,” उनले भनिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा अन्य कुनै पनि दलका नेतालाई काम पुरा नभई सम्मान नगर्न उनले नागरिकहरूलाई आग्रह गरिन्।
सुकुम्बासी बस्तीमा रहेको विस्थापनको त्रासलाई सम्बोधन गर्दै मन्त्री रावलले कसैलाई पनि बिना विकल्प वा एक्कासि नउठाइने आश्वासन दिइन्। “डोजर लगाइदिने पो हुन् कि भन्ने त्रास नपाल्नुस्, कानुनसम्मत तरिकाले जसले लालपुर्जा पाउनुपर्ने हो, उहाँहरूले पाउनुहुन्छ,” उनले थपिन्, “यदि कुनै जग्गा नकारात्मक सूचीमा परेको भए पनि नीतिगत वा कानुनी परिवर्तन गरेर भए पनि समाधान खोजिनेछ।”
मन्त्री रावलको सम्बोधनका मुख्य बुँदाहरू:
-
५०० दिनको लक्ष्य: सरकार गठनको पहिलो दिनदेखि नै मन्त्रालय यसै कार्यमा खटिएको र ५०० दिनभित्र सुकुम्बासी समस्याको दिगो समाधान गरी लालपुर्जा बाँडिने।
-
विकल्पविहीन विस्थापन नहुने: डोजर चल्ने वा बसोबास गरिरहेको ठाउँबाट एक्कासि निकालिने डरबाट मुक्त हुन आग्रह।
-
चुनावी फण्डा नबन्ने: सुकुम्बासी र सहकारी पीडितको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको र यसलाई राजनीतिक वा चुनावी एजेन्डा मात्र बन्न नदिइने।
-
कामपछिको सम्मान: जनताको काम सम्पन्न भएपछि मात्रै फेरि आएर अबिर-खादा साटासाट गरी खुसीयाली मनाउने प्रतिबद्धता।
मन्त्री रावलले विषय जटिल र संवेदनशील भए पनि कानुनी अड्चनहरू फुकाउँदै सरकारले काम गरिरहेकाले केही समय धैर्य धारण गर्न स्थानीयवासीसँग आग्रह गरेकी छन्।
