त्रिपुरेश्वरमा आत्मदाहअघि गणेश नेपालीसँग के-के भयो? बाहिरियो घटनाको पूरा क्रम

२६ असार २०८३, शुक्रबार १६:५१

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। मोटरसाइकल पार्किङको विषयलाई लिएर काठमाडौँ महानगरपालिकाका नगर प्रहरीसँग भएको सामान्य विवाद अन्ततः उनको मृत्युको कारण बन्न पुग्यो।

उक्त घटनालाई लिएर सडकदेखि सदनसम्म सरकार र महानगरपालिकाको विरोध सुरु भएको छ। यसैबिच, प्रहरीले घटनाको पृष्ठभूमि र घटनाक्रमबारे प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रहरी अनुसन्धानका अनुसार बिहीबार बिहान ११:१० बजेदेखि दिउँसो १:४५ बजेसम्म भएका मुख्य घटनाक्रम यसप्रकार छन्:

घटनाक्रम: पार्किङ विवाददेखि आत्मदाहसम्म

१. विवादको सुरुवात (बिहान ११:१० – ११:२०)

राहदानी विभागको २ नम्बर गेट अगाडि ‘नो पार्किङ’ क्षेत्रमा गणेश नेपालीले आफ्नो पल्सर मोटरसाइकल (बा प्र ०२–०६४ प ३२५०) पार्किङ गरेका थिए। त्यहाँ ड्युटीमा रहेकी नगर प्रहरी जवान मीना नगरकोटीले सिठी बजाउँदै उनलाई बाइक हटाउन आग्रह गरिन्। गणेशले अटेर गरेपछि नगर प्रहरीले ‘ह्विल लक’ लगाइदिने चेतावनी दिइन्। दुवैबिच भनाभन भएपछि नगर प्रहरीले मोबाइलबाट भिडिओ खिच्न थालिन्। त्यसपछि गणेश त्यहाँबाट मोटरसाइकल लिएर ३ नम्बर गेटतर्फ लागे।

२. ह्विल लक र भिडियो रेकर्डिङ (बिहान ११:२० – ११:५५)

३ नम्बर गेट अगाडि पनि नो पार्किङकै क्षेत्रमा बाइक राखेपछि नगर प्रहरी नगरकोटीले उनको मोटरसाइकलको पछाडिको टायरमा ह्विल लक लगाइदिइन्। बिहान ११:२६ बजे दुवैबिच पुनः चर्को वादविवाद भयो, जसको अडिओ र भिडिओ समेत सार्वजनिक भएको छ। संवादानुसार गणेशले गुडिरहेको बाइकमा लक लगाएको भन्दै आक्रोश पोखेका थिए भने नगर प्रहरीले नियम मिचेकाले लक लगाएको दाबी गरेकी थिइन्।

३. प्रहरीको आगमन र पेट्रोल निकाल्ने काम (दिउँसो १२:०० – १२:१२)

विवाद बढेपछि नगर प्रहरीले कार्यालयमा गाडी पठाइदिन रिपोर्ट गरिन्। दिउँसो १२ बजेतिर टेकु बिटका प्रहरी हवलदार विकास बुढाथोकी घटनास्थल पुगेर प्रारम्भिक सोधपुछ गरे। त्यसको केही समयपछि दिउँसो १२:१२ बजे गणेशले आफ्नो मोटरसाइकलबाट पानीको बोतलमा पेट्रोल निकाले। अर्की नगर प्रहरी जवान मीना तामाङले रोक्न खोज्दा “आफ्नो बाइकको पेट्रोल निकाल्न किन नपाउने?” भन्दै उनले पेट्रोलको बोतल ज्याकेटभित्र लुकाए। सीसीटीभी फुटेजमा उनलाई पेट्रोल निकाल्न अर्का एक व्यक्तिले पनि सहयोग गरेको देखिएको प्रहरीको भनाइ छ।

४. आत्मदाह र उद्धार (दिउँसो १:३६ – १:४५)

दिउँसो १:३६ बजे महानगरको गाडी घटनास्थल आइपुग्यो। त्यसको लगत्तै १:३७ बजे गणेशले राहदानी विभागको २ नम्बर गेट नजिकै आफ्नो शरीरमा पेट्रोल छर्की आगो लगाएर ३ नम्बर गेटतर्फ दौडिए। दिउँसो १:३८ बजे स्थानीय नागरिक र प्रहरीको सहयोगमा आगो निभाइयो। १:३९ बजे प्रहरीले उनलाई गम्भीर अवस्थामा उद्धार गरी बा २ ज १५८० नम्बरको ट्याक्सीमार्फत वीर अस्पताल पुर्‍यायो।

प्रहरी अनुसन्धान र कानुनी प्रक्रिया

घटनालगत्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय र वृत्त कालीमाटीको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पारेको छ। अनुसन्धानका लागि घटनास्थलबाट पेट्रोलको बोतल, लाइटर र जलेका कपडाहरू संकलन गरिएको छ।

प्रहरीले वीर अस्पताल पुगेर घाइते गणेश नेपालीसँग प्रारम्भिक सोधपुछको भिडिओ समेत रेकर्ड गरेको थियो। घटनाका प्रत्यक्षदर्शीहरू (मनिष सिंह गोदार, कमल चौलागाई, सुरेश तन्डुकार) र ड्युटीमा रहेका जनपद तथा नगर प्रहरीहरूको बयान कागज (बयान) तयार गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

उपचारकै क्रममा शुक्रबार बिहान ११:१९ बजे वीर अस्पतालले गणेश नेपालीलाई मृत घोषित गरेको हो।