अमृत भुसालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

४ असार २०८३, बिहीबार ११:१९

बुटवल, ३ असार। रास्वपाको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका सदस्य अमृत भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
बुटवलका स्वास्थ्यकर्मी भुसाल हाल रास्वपाको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका सदस्य रहेका छन्। भुसालले चितवनमा हुने पार्टीको प्रथम केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। रास्वपाको असार ७, ८ र ९ गते हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ।
स्वास्थ्य क्षेत्रमार्फत समाजमा योगदान दिँदै आएको अवस्थामा राजनीतिमार्फत पनि समाजका लागि थप योगदान गर्ने उद्देश्यले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको भुसालले बताए।
उनका अनुसार जेन्जी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै युवाको भविष्य सुनिश्चित गर्नु अहिलेको मुख्य एजेन्डा हो। साथै, स्वास्थ्य सेवा आर्थिक अवस्था जस्तोसुकै भए पनि सबैका लागि समान र सहज बनाउनुपर्ने महत्वपूर्ण दायित्व आफूले महसुस गरेको उनले बताए।
आजसम्म इमान्दारिता र समर्पणका साथ हासिल गरेको सफलतालाई अझ उपलब्धिमूलक बनाउँदै सु–संस्कृत राजनीतिक यात्राका लागि सबैको माया, साथ र समर्थनको अपेक्षा रहेको भुसालको भनाइ छ।
बुटवलस्थित आधुनिक समाज डेन्टलमार्फत लामो समयदेखि मुख स्वास्थ्य अभियान सञ्चालन गर्दै आएका भुसाल विद्यालय तहदेखि समुदायस्तरसम्म मुख स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय छन्। उनको अभियानमार्फत हालसम्म १ लाखभन्दा बढी विद्यार्थीले निःशुल्क मुख स्वास्थ्य प्रशिक्षण तथा मुख परीक्षण सेवा प्राप्त गरिसकेका छन्।