काठमाडौं । एउटा सार्वजनिक संस्थानलाई त्यसैका प्रमुख र उच्चपदस्थहरूले कसरी दोहन गर्छन् भन्ने एउटा कुरूप उदाहरण हो– राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमको न्यारो बडी जहाजका दुई इन्जिन इजरायलमा मर्मत गर्दा भएको अनियमितता ।

निगमको दर्ता नम्बर ‘९एन–एकेएक्स’ न्यारो बडी जहाज ‘लुम्बिनी’ जहाजको एउटा इन्जिन मर्मत सकिएर ८ महिनादेखि इजरायलमा थन्किरहेको छ । त्यो इन्जिन फिर्ता नल्याएर हरेक दिन करिब पौने ८ लाख रुपैयाँ तिर्नुपर्ने गरी निगमले भाडाको इन्जिन लगाएर जहाज चलाइरहेको छ ।
इजरायली कम्पनीसँग भएको सम्झौता अनुसार एउटा इन्जिन ६७ दिनमा मर्मत गरिसक्नुपर्ने हो । त्यो कम्पनीले सोही जहाजका दुइटा इन्जिन मर्मत गरेकाले त्यो काम बढीमा साढे चार महिनामा सकिनुपर्ने हो ।
तर, निगमका निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारी, उनका आसेपासे कर्मचारी एवं राजनीतिक नेतृत्वका कारण ८ सय १० दिनभन्दा बढी (२७ महिना) निगमका इन्जिन मर्मत भएर पनि नेपाल ल्याइएको छैन । इन्जिन मर्मत र भाडाका नाममा करिब ३ अर्बको काममा करोडौं रुपैयाँ अनियमितता भएको निगम स्रोतको दाबी छ ।
