गत २८ असोजमा बसेको केन्द्रीय समिति बैठकमा लिखित मन्तव्य दिँदै सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएर पार्टी जिम्मा लगाए । १० कार्तिकमा देउवा सिङ्गापुर उड्नुअघि राजनीतिक वृत्तमा उनको गुणगान गाउने र स्याबासी दिनेको कमी भएन । ‘देउवाले सर्लक्क जिम्मेवारी सुम्पिए, लोकतान्त्रिक चरित्र देखाए, राजनीतिक परिपक्वता देखाए’ जस्ता बखान गरिए । देउवा सिङ्गापुर गएपश्चात् कांग्रेस राजनीतिलाई पूर्णबहादुरले अघि बढाए । अर्थात् भाष्य चाहिँ ‘अब देउवा फर्कँदैनन्’ भन्ने बनाउन खोजियो ।
तर, देउवा १८ दिन सिङ्गापुर बस्दा फेरि कांग्रेस राजनीति जटिल मोडमा पुगेको भाष्य बनाइयो । २८ कार्तिकमा देउवा नेपाल फर्कँदासम्म कांग्रेस फुट्छ कि भन्नेसम्मका हल्ला चले/चलाइए ।
पार्टीलाई समस्यामा पुर्याउने मुद्दा थियो १५औँ महाधिवेशनको रस्साकस्सी । २३ र २४ भदौंमा भएको जेन-जी विद्रोहअघि कांग्रेसमा महाधिवेशनको चर्चा त थियो तर, माहोल यसरी तातिएको थिएन ।
पार्टी सभापति शेरबहादुर देउवा मात्र होइन इतर समूहका नेता शेखर कोइराला तथा महामन्त्रीहरू पनि मंसिरमा महाधिवेशन नहुनेमा ढुक्क थिए । क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री गगनकुमार थापा पनि चार वर्षभित्र महाधिवेशन नहुनेमा ढुक्क थिए । ‘सात भाइ’का नामले परिचित नेताहरू झन् सभापति देउवाको उत्तराधlकारी बन्न कम्मर कसेरै लागेका थिए ।
तर, जेन-जी विद्रोहले माहोल परिवर्तन भयो । त्यसपश्चात् कांग्रेसभित्र पनि महाधिवेशनको बहस तातियो । जतिसक्दो चाँडो देउवाले पद छाड्नुपर्ने बहसबाट शुरू कांग्रेसको किचलो हाल नियमित महाधिवेशन गर्ने कि विशेष गर्ने, चुनावअघि वा पछि महाधिवेशन गर्ने भन्ने कचिङ्गलमा फसेको छ ।
सभापति देउवा र उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा घरमै कुटिएपश्चात् स्वास्थ्यको कारण देखाउँदै देउवाले खड्कालाई कार्यबाहक सुम्पिएका थिए । त्यसपछि उनी उपचार गर्ने भन्दै सिंगापुर गए ।
तर, देउवा सिङ्गापुर पुगेर घर फर्कँदासमेत पार्टीको आन्तरिक राजनीति शान्त हुन सकेको छैन, बरू झन् झन् तातिँदै गएको छ । नियमित र विशेष महाधिवेशन त्यो पनि चुनाव अघि कि पछि भन्ने गहन विवादमा कांग्रेस फसेको छ ।
विवाद समाधानउन्मुख नहुँदा नेताहरूले देउवा गुहार्न थालेका छन् । केन्द्रीय समितिको मिति निरन्तर सार्दै उनीहरू संवादमा अग्रसर भएका हुन् । कार्यबाहक सभापतिसँग मात्र बस्दा निकास ननिस्किएपछि विशेष महाधिवेशन पक्षधरहरूले सभापति देउवासँगै संवाद गर्न थालेका छन् । अर्थात् पार्टीबाट बिदाइ भएका देउवालाई कार्यवहाक सभापति सहितका नेताहरूले पुनः सक्रिय बनाएका छन् । विवादको भूमरीबाट बाहिर निसक्न नेताहरू देउवाकै शरणमा पुगेका छन् । ‘घरमा बसेको सिंहलाई उठाउनु हुँदैन । हामीले नै सहमति गरेर पुस मसान्तसम्म अधिवेशन गर्नैपर्छ,’ केन्द्रीय सदस्य चन्द्र भण्डारी भन्छन् ।
विशेष महाधिवेशन पक्षधरले दुइ हजार चार सयभन्दा बढी हस्ताक्षर गरेर नियमित दबाबमूलक भेला र कार्यक्रम गर्न थालेपपछि समस्या चर्किएको हो । काउन्टरमा आउँदो वैशाखमा महाधिवेशन गर्नुपर्ने र चुनावअघि विशेष महाधिवेशनको कल्पनासम्म गर्न सकिँदैन भन्दै देउवा समूहका ७० बढी केन्द्रीय सदस्यहरूले पनि नियमित काउन्टर बैठक र भेलालाई तीव्रता दिएका छन् ।
यी दुवै गतिविधिले पार्टी जटिल मोडमा पुगेको छ । त्यसमाथि यी विवादलाई पार लगाउन आफू असक्षम बन्दै गएपश्चात् कार्यबाहक सभापतिले पदबाट बिदा हुन्छु भन्न थालेपछि देउवाको महत्व झन् बढ्न थालेको हो । ‘सबैलाई तनाव चिन्ता र दबाब छ । त्यसैले चौतर्फी छलफल र बैठक भइरहेका छन् । सभापतिज्यू आफैं विवाद मिलाउन सक्रिय हुनुपरेको छ,’ विशेष महाधिवेशन पक्षधर एक नेता भन्छन् ।
पार्टीलाई सम्भावित जोखिम तथा क्षतिबाट बाहिर निकाल्न देउवाले सिङ्गापुरबाट फर्कनेवित्तिकै आफू निकट नेताहरूसँग एकल तथा सामूहिक संवाद गरेका थिए । उनैले हस्ताक्षर गरेर पार्टीलाई निर्वाचन आयोगमा पनि दर्ता गराए । त्यसपश्चात् पार्टीमा देखिएको संकट टार्न भन्दै देउवा निरन्तर संवादमा छन् ।
बिहीबार मात्र देउवाले आफ्ना समूहका नेताहरूसँग संवाद गरेका थिए । उक्त संवादमा देउवाले आफूले पार्टी विभाजन हेर्न नसक्ने स्पष्ट पारेका थिए । देउवाले मिलेर सहमतिमा मिति तय गर्न निर्देशन दिए ।
साथै उनले विशेषभन्दा पनि नियमित महाधिवेशन गर्न र त्यसको माहोल बनाउन कार्यबाहक सभापतिसहित आफू निकट नेताहरूलाई निर्देशन दिए । ‘मेरो नाम लिएर विवाद नगर्नू । पार्टी विभाजन भएको म हेर्न सक्दिनँ,’ देउवाको भनाइ थियो ।
यस्तै, देउवाले सोही साँझ पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित उपसभापति पूर्णबहादुर खड्कासँग पनि संवाद गरे । तर, देउवाले नियमित महाधिवेशन जानुपर्ने अडान गर्दै त्यसमा महामन्त्रीद्वयलाई मनाउन खोजे । महामन्त्रीद्वयले भने त्यसलाई स्वीकार गरेनन् ।
देउवाले शुक्रबार पनि कार्यबाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ, नेता शेखर कोइराला, महामन्त्रीद्वय थापा र शर्मासँग संवाद गरे । शुक्रबार पनि संवादले मूर्त रूप लिन सकेन । देउवाले उक्त बैठकमा वैशाखमै महाधिवेशन गर्नुपर्ने अडानमा रहेका विमलेन्द्र निधि र कृष्ण सिटौलालाई पनि संवादमा बोलाएका थिए । तर, सहमति जुट्न सकेको छैन ।
‘सभापतिज्यू मिलाउनुपर्छ भनेर लाग्नुभएको छ । छलफल सकारात्मक दिशामाअघि बढे पनि सहमति भने हुन सकेको छैन,’ नेता रमेश लेखकले लोकान्तरसँग भने, ‘सभापतिज्यूले विग्रह ल्याउने र विभाजित हुने दिशातर्फ पार्टीलाई अघि लानुहुँदैन भनेर प्रयास गरिरहनुभएको छ ।’
