
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले पार्टीभित्र बढ्दै गएको व्यक्तिवाद पार्टीका लागि हानिकारक भएको टिप्पणी गरेकी छन्।शनिबार काठमाडौंमा आयोजित रास्वपा गोदावरी नगरको पहिलो नगर अधिवेशनमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीभित्र व्यक्तिनामामुखी राजनीतिको होइन, वैचारिक राजनीतिले मार्गदर्शन गर्नुपर्ने बताइन्।
गौतमले भनिन्,“देशले चिनेका अनुहार होइन, देशलाई चिनेका मान्छेहरूलाई जोड्दै जानुपर्छ। देशलाई चिनेका मानिसहरू हरेक क्षेत्रमा हुन्छन्, उनीहरूलाई निरन्तर समेटिरहनुपर्छ।”
उनका अनुसार भोलिका दिनमा रास्वपाकै प्लेटफर्मबाट सशक्त नेतृत्व उदाउने वातावरण निर्माण गर्नुपर्छ।
पार्टीभित्र विभाजनमा दुःख व्यक्त
सोविता गौतमले पछिल्लो समय देशको राजनीति संवेदनशील र ध्रुवीकृत बन्दै गएको बताइन्।उनले भर्खरै स्थापना भएको पार्टीबाट छिट्टै केही साथीहरू छुट्टिनु “दु:खद” भएको उल्लेख गर्दै“महाधिवेशनपछि पार्टी पूर्ण रूपमा व्यवस्थापनमा जान्छ”भनेर आत्मविश्वास व्यक्त गरिन्।“रास्वपा किन र कसका लागि खोलिएको हो, म स्पष्ट छु”गौतमले आफू पार्टी स्थापनाकालदेखि सक्रिय रहेको स्मरण गर्दै पार्टी छोड्ने कुनै प्रसङ्ग नरहेको स्पष्ट पारिन्।
उनले भनिन्,“नीति, उद्देश्य र मार्गप्रति म स्पष्ट छु, त्यसैले पार्टी छोड्ने प्रश्नै उठ्दैन।”
