महाधिवेशन प्रतिनिधि: भूगोल कमजोर, “माथिबाट मनोनयन” बलियो एमालेभित्र असन्तुष्टि चरममा

३० कार्तिक २०८२, शनिबार ०९:२७

नेकपा एमालेका नेता कार्यकर्ताहरू मंसिर अन्तिम सातामा हुने एघारौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटिरहेका छन्। सडक आन्दोलनसहित महाधिवेशनको तयारीले व्यस्त रहेका नेताहरू हाल स्थानीय तहका भेला सम्मेलनमै केन्द्रित छन्। पार्टीले आगामी १३ मंसिरमा देशभर एकैदिन महाधिवेशन प्रतिनिधि चयन गर्ने घोषणा गरेसँगै सबै तहमा प्रतिस्पर्धा र दबाब बढेको छ।

यसपटक भूगोलबाट चुनिने प्रतिनिधि संख्या घटाइएकाले नेता–कार्यकर्तामा असन्तुष्टि चुलिएको छ।

खोटाङका एमाले सचिव सुरेन्द्रकुमार राई भन्छन्, “दशौं महाधिवेशनमा १४ जना प्रतिनिधि आएका थियौँ। यसपटक संख्या घटेर ८ जनामा झर्‍यो। क्लस्टर बढेको छ, प्रतिनिधि घटेको छ, छनोट निकै पेचिलो छ।”

राईजस्तै समस्या धेरैजसो पहाडी, उच्च पहाडी र हिमाली जिल्लाका नेताहरूले सुनाइरहेका छन्। सदस्य संख्या निर्धारणका आधारमा प्रतिनिधि सभा क्षेत्रबाट १,१३५ जना मात्र प्रतिनिधि आउनेछन्। एक क्षेत्रका १,२०० सदस्य बराबर ४ प्रतिनिधि, जसमा एक महिला र एक ४० वर्ष मुनिका युवा अनिवार्य हुने व्यवस्था छ। थप ८०० सदस्यका आधारमा एक एक जना प्रतिनिधि थपिँदै जानेछ।

महाधिवेशनमा भने कुल २,१२७ प्रतिनिधि सहभागी हुने तय भएको छ। त्यस अनुसार भूगोल बाहेकका संरचनाबाट ठूलो संख्यामा प्रतिनिधि चयन हुनेछन्।

केन्द्रीय कमिटी ३५५, अनुशासन आयोग २९, लेखा आयोग ३०, निर्वाचन आयोग २५, सल्लाहकार परिषद २५, प्रदेश समितिबाट ४५ र विशेष जिल्ला कमिटीबाट ४७ गरी सयौँ प्रतिनिधि गैरभौगोलिक क्षेत्रबाट आउने व्यवस्था गरिएको छ।

यस्तै दलित (८१), मजदुर (४९), प्रवास (३५), विभाग (३२), केन्द्रीय कार्यालय (१) र जनसंगठनबाट १३७ प्रतिनिधि चयन हुनेछन्। विधानअनुसार कुल संख्याको ५ प्रतिशत अर्थात् १०१ जना प्रतिनिधि मनोनीत गरिने छन्।

जिल्ला नेताहरू भूगोलको प्रतिनिधित्व घटाइएकोप्रति असन्तुष्ट देखिएका छन्। एक जिल्लास्तरीय नेता भन्छन्, “तल्लो तहका कार्यकर्ताबाट आउने प्रतिनिधिलाई कटौती गरिएको छ। असन्तुष्टि धेरै छ तर महाधिवेशन नजिकिएकाले बोल्न सकिने अवस्था छैन।”

२०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा भूगोलबाट १,५६२ प्रतिनिधि आएका थिए। अहिले त्यो संख्या ४०० भन्दा बढीले कमाइएको छ। तर त्यसबेला भन्दा यसपटक संरचनागत प्रतिनिधि झनै बढाइदै संख्या ९९२ पुगेको छ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार केन्द्रीय विभाग र कार्यालयका नेताहरूको आग्रहका कारण संरचनागत हिस्सामा संख्या बढेको हो।

उनका शब्दमा, “विभागमा संख्या धेरै थियो। नेताहरूले महाधिवेशनमै भाग नलिन्छौं भनेपछि कटौती गर्न सकिनँ। अब विभागबाट एक–एक जना गरेर प्रतिनिधि जानेछन्।”

पहिले विभाग र कार्यालयबाट जम्मा ५ जना प्रतिनिधि मात्र जाँदै आएका थिए। यसपटक भने विभागबाट ३२ र कार्यालयबाट १ गरी कुल ३२ जना चयन हुने छन्।