विप्लव नेतृत्वको नेकपाको आज काठमाडौंमा शक्ति प्रदर्शन

२१ कार्तिक २०८२, बिहीबार १०:२४

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

पार्टीले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिती र हालको शासन व्यवस्थाप्रति आफ्नो धारणा जनतामाझ स्पष्ट पार्ने उद्देश्यले आज प्रदर्शन र आमसभा आयोजना गरेको जनाएको छ ।

दिउँसो करिब १ बजे भृकुटीमण्डपमा हुने सभालाई महासचिव नेत्रविक्रम चन्द (विप्लव) स्वयंले सम्बोधन गर्ने तय गरिएको छ । सभाअघि विभिन्न ठाउँबाट र्‍यालीका माध्यमबाट कार्यकर्ताहरू भृकुटीमण्डपतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ ।

राजधानी उपत्यका मात्र होइन, आसपासका जिल्लाहरूबाट समेत कार्यकर्ताहरूलाई सहभागी गराउने तयारी नेकपाले गरेको छ । पार्टीले करिब १० हजारभन्दा बढी कार्यकर्ता भेला गराउने दाबी गरेको छ ।

पार्टीका नेताहरूका अनुसार, यो प्रदर्शन पार्टीको आगामी राजनीतिक रणनीतिका सन्देश जनतामाझ पुर्‍याउने अभियानको रूपमा लिइएको छ ।