विभिन्न १० वटा कम्युनिस्ट घटकहरू एकीकृत भएर नयाँ राजनीतिक शक्ति ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको छ। राजधानीको भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रममा पार्टी एकताको घोषणा गरिएको हो।
कार्यक्रममा पार्टीका नेता देव गुरुङले नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरे। घोषणापत्रमा देशमा राजनीतिक स्थिरता, सुशासन, आर्थिक समानता र सामाजिक न्याय स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।
घोषणामा राष्ट्रिय स्वाधीनता, संघीयता सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण, कृषि–उद्योग विकास, रोजगारी सिर्जना र संविधानको पूर्ण कार्यान्वयनका विषयहरूलाई प्राथमिकता दिइएको छ।
नयाँ दलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न १० कम्युनिस्ट घटकहरू समावेश छन्। एकता घोषणासँगै नयाँ पार्टीलाई मुलुकमा वाम एकताको सशक्त अभ्यासको रूपमा लिइएको छ।
कार्यक्रममा नेता महेन्द्रराय यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक तोक्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो।
नेताहरूले एकतालाई ऐतिहासिक कदमका रूपमा व्याख्या गर्दै देशलाई स्थिरता, विकास र परिवर्तनको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

