
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले स्विट्जरल्याण्डको बासेलमा आयोजित बैङ्क फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआईएस) को ९५ औं वार्षिक बैठकमा सहभागीता जनाउनुभएको छ ।
यही शुक्रबारदेखि आइतबारसम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित उक्त बैठकमा बीआईएस सदस्य राष्ट्र एवम विश्वका विभिन्न देशका केन्दिय बैङ्कका गभर्नरहरू एवम् उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
सन् १९३० मा स्थापित बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसमा हाल ६३ वटा केन्द्रिय बैङ्कहरू सदस्य रहेका छन् ।
विश्वभर मौद्रिक र वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यले स्थापित उक्त संस्थाले केन्द्रिय बैङ्कहरूबीचको सहकार्य र वित्तीय प्रणालीको विकास एवम् वित्तीय स्थायित्व कायम राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
बैठकका क्रममा गभर्नर डा. पौडेल सीपीएमआईः इमर्जिङ मार्केट्स एन्ड डेभलपिङ इकोनोमिक्स– ब्रिजिङ ग्याप्सः फाइनान्सियल इन्क्लुजन, रिजनल इन्ट्रिगेसन एन्ड क्रस बोर्डर पेमेन्ट्स् तथा बीआईएस इनोभेसन हब सेमिनारः एआई एन्ड सेफ्टी विषयक अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रिय बैङ्कहरूले गरेका उपलब्धि र सामना गर्नुपरेको चुनौति तथा केन्द्रिय बैङ्कमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग र यसले बैङ्किङ प्रणालीमा ल्याउन सक्ने चुनौति र त्यसलाई सम्बोधन गर्न केन्द्रिय बैङ्कहरूले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल भएको थियो ।
गभर्नर डा. पौडेलले रेगुलेसन एण्ड कम्पिटिटिभनेस विषयक अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाउनुभएको थियो । वार्षिक बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो भने प्राध्यापक मौरिस अब्सटफेल्डले ‘द इन्टरनेशनल मनिटरी सिस्टमः अ फर्क इन द रोड’ विषयमा कार्यपत्र प्रस्तुत गनुभएको थियो ।