
काठमाडौँ । कोशी प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ३.०६ प्रतिशतले बृद्धि भएर चार खर्ब ९२ अर्ब रुपियाँ पुगेको छ ।
नेपाल राष्ट्र बैङ्क विराटनगर कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक प्रतिवेदनका अनुसार पछिल्लो समय रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोबारमा भएको बृद्धि, तथा बैंकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको देखिएको हो ।
कर्जा प्रवाहमा १.२ प्रतिशतको बृद्धि
समिक्षा अवधिमा कुल कर्जा प्रवाहमा पनि १.२ प्रतिशतले बृद्धि भएको छ । अध्ययनका अनुसार सो अवधिमा प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा ९.७ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २५.२ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६५.१ प्रतिशत रहेको छ । समिक्षा अवधिमा कोशी प्रदेशमा कर्जा निक्षेप अनुपात ११९.० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तमा उक्त अनुपात १२१.२ प्रतिशत रहेको थियो ।
गत वर्ष पुस मसान्तको तुलनामा यो वर्षको पुस मसान्तमा कोशी प्रदेशमा बैङक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा १०.२ प्रतिशतले कमी भई पाँच खर्ब ८६ अर्ब पुगेको छ ।
गत पुस मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले कोशी प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ५.९५ प्रतिशत, बचत निक्षेपको अंश ४८.५६ प्रतिशत, मुद्दती निक्षेपको अंश ३९.६३ प्रतिशत र अन्य निक्षेपको अंश ५.८६ प्रतिशत रहेको छ । जुन असार मसान्तमा कुल निक्षेपमा चल्ती निक्षेपको अंश ६.५३ प्रतिशत, बचत निक्षेपको अंश ४४.२७ प्रतिशत, मुद्दती निक्षेपको अंश ४३.१९ प्रतिशत र अन्य निक्षेपको अंश छ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा चल्ती निक्षेप र मुद्दती निक्षेप रकम क्रमशः ६.२० प्रतिशत र ५.४४ प्रतिशतले घटेको छ भने बचत निक्षेप र अन्य निक्षेपको रकम क्रमशः १३.०६ प्रतिशत र ०.५२ प्रतिशतले बढेको छ ।
मुद्दती निक्षेपको ब्याजदर गत वर्षको ब्याजदर भन्दा कम रहेका कारण मुद्दती निक्षेप घटेको तथा रेमिट्यान्समा आएको बृद्धि तथा बैङ्क तथा वित्तीय संस्था बाहेकका क्षेत्र प्रति मानिसहरुको घट्दो विश्वासका कारण बचत निक्षेपमा बृद्धि भएको देखिएको अध्ययनले देखाएको छ ।
निक्षेपकर्ताको संख्या ४.१ प्रतिशतले बृद्धि
कोशी प्रदेशमा गत असार मसान्तको तुलनामा पुस मसान्तमा निक्षेपकर्ताको संख्या ४.१ प्रतिशतले बृद्धि भई ७९ लाख ७२ हजार पुगेको छ भने ऋणीहरुको संख्या ०.८५ प्रतिशतले कमी भई तीन लाख पाँच हजार पुगेको छ । बजारमा देखिएको शिथिलताका कारण कर्जाको मागमा कमी आएको र बढ्दो निष्कृय कर्जाले पुँजी पर्याप्ततामा देखिएको दबाबको कारणले बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसकेका कारण ऋणीहरुको संख्यामा कमी आएको देखिन्छ ।
विपन्न वर्ग कर्जा २१.९८ प्रतिशतले कमी
चालु आर्थिक वर्ष असार मसान्तको तुलनामा पुस मसान्तसम्म विपन्न वर्ग कर्जा २१.९८ प्रतिशतले कमी भई ४२ अर्ब ७९ करोड पुगेको छ । जुन अघिल्लो वर्षको पुस मसान्तमा उक्त कर्जा ४५ अर्ब २५ करोड रहेको थियो ।
गत पुस मसान्तसम्म कुल कर्जाको तुलनामा विपन्न वर्ग कर्जाको हिस्सा ७.३ प्रतिशत रहेको छ । गत असार मसान्तको तुलनामा पुस मसान्तमा सहुलियतपूर्ण कर्जा ३९.५ प्रतिशतले घटेर ११ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको पुस मसान्तमा उक्त कर्जा ३३ अर्ब ३८ करोड रहेको थियो ।
सहुलियतपूर्ण कर्जाको हिस्सा २.०३ प्रतिशत
गत पुस मसान्तमा कुल कर्जामा सहुलियतपूर्ण कर्जाको हिस्सा २.०३ प्रतिशत रहेको छ । कोशी प्रदेशमा गत पुस मसान्तसम्म तोकिएको क्षेत्रमा प्रवाह भएको कुल कर्जा एक खर्ब ९६ अर्ब २५ करोड ४२ लाख रहेको छ । तोकिएको क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये कृषि क्षेत्रमा ९५ अर्ब ७५ करोड ४२ लाख, उर्जा क्षेत्रमा चार करोड ११ लाख, साना तथा मझौला उद्योग क्षेत्रमा ९० अर्ब ८९ करोड ६८ लाख र पर्यटन क्षेत्र तर्फ नौ अर्ब १९ करोड १८ लाख रहेको छ ।
ए.टि.एम संख्या ७११
चालु आर्थिक वर्षको पुस मसान्तमा कोशी प्रदेशमा कुल ए.टि.एम संख्या ७११ पुगेको छ । यसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी २०८ वटा ए.टि.एम रहेका छन् भने ओखलढुङ्गा र खोटाङ जिल्लामा सबैभन्दा कम १०/१० वटा ए.टि.एम. रहेका छन् ।
बैङ्क तथा वित्तीय संस्थाका शाखा १८४६
कोशी प्रदेशमा गत पुस मसान्तसम्म वाणिज्य बैङ्कका ७६२, विकास बैङ्कका १९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८५३ गरी जम्मा १८ सय ४६ शाखाहरू रहेका छन् । यस मध्ये मोरङ जिल्लामा सबैभन्दा बढी ४५० शाखा र ताप्लेजुङ जिल्लामा सबैभन्दा कम ३९ शाखा रहेका छन् । त्यसैगरी, झापामा ३५०, सुनसरीमा ३३५, उदयपुरमा ११५, इलाममा ९७, धनकुटामा ८४, पाँचथरमा ६८, संखुवासभामा ६०, भोजपुरमा ५५, ओखलढुङ्गामा ५४, तेह्रभुममा ४९, खोटाङमा ४८ र सोलुखुम्बुमा ४२ वटा शाखा रहेका छन् । गत असार मसान्तसम्म कोशी प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाका कुल १८ सय ३७ शाखाहरू रहेका थिए ।