धनुषाधाममा राष्ट्रिय वाणिज्य बैङ्कको २९७ औं शाखा

१२ जेष्ठ २०८२, आईतवार १३:२९

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले धनुषाको धनुषाधाममा २९७ औं शाखा कार्यालय शुभारम्भ गरेको छ । धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैङ्क सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले ताम्रपत्र अनावरण र रिबन काटेर शनिबार एक समारोहका बीच शाखाको संयुक्त रुपमा समुदघाट्न गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख वालेश्वर मण्डलले धनुषाधाम क्षेत्र पर्यटकीय र कृषि क्षेत्रसँग जोडिएकाले उक्त क्षेत्रमा बैङ्कले प्राथमिकताका साथ लगानी गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय वाणिज्य बैङ्कमा सरकारको लगानी भएकाले यो जनताकै बैङ्क भएको बताउँदै उहाँले नागरिकले यही बैङ्कसँग बैङ्किङ कारोबार गर्नुपर्ने बताउनुभयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत दवेन्द्ररमण खनालले बैङ्कले ७७ वटै जिल्लामा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउनुभयो ।
उहाँले अहिले बैङ्कमा भएको योग्य र दक्ष जनशक्ति नागरिकमा आधुनिक बैङ्किङ सेवा प्रवाह गर्न सक्षम रहेको बताउनुभयो । उक्त समारोहमा प्रभातफेरी कार्यक्रम गरी नगर परिक्रमा समेत गरिएको थियो ।