
काठमाडौं । नेपालमा जातीय छुवाछूत तथा भेदभाव अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
साउथ एसिया पार्टनरसीप (साप–नेपाल) र दलित नागरिक समाज–नेपालले राजधानीमा आयोजना गरेको नेपालमा जातीय छुवाछूत तथा भेदभाव अन्त्यका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक विकृतिको रूपमा रहेको छुवाछुत अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
कानुनले छुवाछुत र भेदभावको अन्त्य गरिसकेको भएपनि व्यवहारबाट अझै अन्त्य नहुनु दुःखद रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै सांसद हर्कमाया विश्वकर्माले समाजको चेतनाको स्तर अझै माथि उठ्न नसकेको भन्दै समाज परिवर्तन गर्ने र अधिकार स्थायित्व गर्ने राजनीतिक दलहरुको नै अहम भूमिका भएको बताउनुभयो ।
नेपालको संविधानले नै छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाएको भन्दै उहाँले जातीय विभेद कसुर सजाय ऐन–२०६८ ले पनि त्यसलाई निषेध गरेको बताउनुभयो ।
दलित समुदायको ठूलो आन्दोलनपश्चात् नेपालमा यी कानुनहरू आएको उहाँले बताउनुभयो ।
मानवअधिकारवादी नेता चरण प्रसाईले छुवाछूत तथा भेदभावको चुरो कहाँ छ त्यहीबाट सुधार शुरु गर्नुपर्ने भन्दै विद्यालयबाटै बालबालिकालाई चेतना जगाउने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल सरकारका पूर्व सचिव डा. मान बहादुर विश्वकर्माले राज्यलाई रुपान्तरण गरेर मात्र समाज रुपान्तरण नहुने भन्दै समाजको चेतनास्तर बढ्न नसके हामी जहाँको त्यहीँ रहने बताउनुभयो ।
राज्यको जिम्मेवार निकायमा बस्नेहरुको मानसिकताका कारण छुवाछूत तथा भेदभाव घट्नुको साटो बढेको बताउनुभयो ।
द्यलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत तथा भेदभाव जस्तो विकृतिलाई राजनीतिक दलहरुले संरक्षण गरिरहेको बताउनुभयो । अहिले पनि सात प्रतिशतले यसलाई टिकाउन चाहेको भन्दै उहाँले त्यो सात प्रतिशत सिंहदरबारमै रहेको बताउनुभयो ।
साप नेपालका कार्यकारी निर्देशक कार्यक्रमको उद्देश्यबारे संक्षिप्त जानकारी दिंदै नेपालमा छुवाछूत तथा भेदभाव अन्त्यका लागि कस्तो खालको कार्यक्रमको आवश्यकता पर्छ, कस्तो बजेट आवश्यकता पर्छ भन्ने विषयमा केन्द्रित रहेको बताउनुभयो ।
कार्यक्रममा साप नेपालको प्रादेशिक निर्देशक जनक कार्की, पूर्व राजदुत विष्णुपुकार श्रेष्ठलगायतले बोल्नुभएको थियो ।