नेपाल पुलिस र आर्मी क्लब इन्डो–नेपाल च्याम्पियनसिपमा विजयी

८ बैशाख २०८२, सोमबार ११:०४

बुटवल, वैशाख ८
बुटवलमा सञ्चालन भइरहेको १०औं मणिमुकुन्द कप इन्डो–नेपाल क्लब भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत आइतबार राति नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्।

पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेश भलिबल संघलाई पाँच सेटसम्मको प्रतिस्पर्धापछि पराजित गरेको हो। प्रारम्भिक सेटमा २५–११ को सहज जित निकालेको प्रहरी क्लब दोस्रो र तेस्रो सेटमा क्रमशः २२–२५ र २३–२५ ले पछि परेको थियो। तर, चौथो सेटमा ३०–२८ र पाँचौं तथा अन्तिम सेटमा १५–९ को जित निकाल्दै खेल आफ्नो पक्षमा ल्यायो।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबविरुद्ध संघर्षपूर्ण खेलमा जित हासिल गरेको छ। पहिलो सेटमा २७–२५ को जित दिलाए पनि दोस्रो र तेस्रो सेट २८–३० र २१–२५ ले गुमाएको थियो। तर, चौथो सेटमा २५–२१ र निर्णायक पाँचौं सेटमा १५–१२ को नतिजा निकाल्दै आर्मी क्लबले जित दर्ता गर्‍यो।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन दिन भारतको गुजरातस्थित साग भलिबल एकेडेमी र गलकोट भलिबल क्लब बागलुङले जित हात पारेका थिए।

प्रतियोगिता यसपटक रात्रीकालीन रुपमा सञ्चालन गरिएको छ, जसअनुसार प्रत्येक दिन साँझ ७ बजेबाट राति १० बजेसम्म खेल हुँदैछ। आयोजकका अनुसार सोमबार पहिलो खेल गण्डकी प्रदेश र कोशी प्रदेश भलिबल क्लबबीच हुनेछ भने दोस्रो खेल त्रिभुवन आर्मी क्लब र भारतको साग भलिबल एकेडेमीबीच हुने तालिका रहेको छ।

वैशाख १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टिम (पुलिस, आर्मी, एपीएफ) र भारतसहित जम्मा आठ टोली सहभागी छन्। प्रतियोगिताको सुरुवातमा सहभागिता जनाउने जनाइएको सुदूरपश्चिम प्रदेश अन्तिम समयमा प्रतियोगिताबाट बाहिरिएको आयोजकले जनाएको छ।

विजेता टिमलाई नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेताले २ लाख ११ हजार १ सय ११ रुपैयाँ, तेस्रो स्थान हासिल गर्नेले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्ने टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ।