
३१ चैत, काठमाडौं । संघीय निजामती सेवा ऐनको ढिलाइप्रति असन्तुष्टि जनाउँदै प्रमुख कर्मचारी संगठनहरूले आन्दोलनको चेतावनी दिएका छन्।
नेपालका पाँच ठूला कर्मचारी संगठनहरूले संयुक्त पत्रकार सम्मेलनमार्फत सरकारले ऐन जारी नगरे प्रशासन अस्तव्यस्त भएको भन्दै तत्काल ऐन ल्याउन आग्रह गरेका हुन्।
संघीय निजामती सेवा ऐन संसदमा पेस भए पनि छलफल प्रक्रियामा अनावश्यक ढिलाइ भएको र सरकार गम्भीर नदेखिएको उनीहरूको आरोप छ।
संगठनहरूले अदालतको आदेश, पुराना सम्झौताहरू र ८५ बुँदे माग समेटेर ऐन जारी हुनुपर्ने माग गरेका छन्।
मुख्य मागहरूमा निजामती सेवाको स्पष्ट परिभाषा, समायोजनको पुनः अवसर, पदपूर्तिमा न्यायोचित व्यवस्था, सेवा अवधिका आधारमा तह वृद्धि, पारदर्शी सरुवा प्रणाली, तथा ट्रेड युनियनको अधिकार समावेश छन्।
सरकारले मागहरू बेवास्ता गरे चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी पनि दिइएको छ।