सङ्घीय निजामती सेवा विधेयकमा सहमति जुटाउन एघार सदस्यीय उपसमिति गठन

९ फाल्गुन २०८१, शुक्रबार १५:२२

काठमाडौँ । शुक्रवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सङ्घीय निजामती सेवा विधेयकको टुंगो लगाउन एघार सदस्यीय उपसमिति गठन गरिएको छ।

सङ्घीय निजामती सेवा विधेयकका विवादित विषय टुङ्ग्याउनका लागि नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा एघार सदस्यीय समिति गठन गरिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन्।

दफावार छलफलका क्रममा सहमति नभएपछि उपसमिति मार्फत टुंगो लगाउन समिति गठन गरिएको उनको भनाई छ।

उनले भने, ‘छलफलको क्रममा पनि सहमतिमा पुग्न नसकेपछि समस्या आउने नै भयो। त्यसैले यी विवादित विषयहरू  सबैलाई एकीकृत गर्न चाहन्छु ।’

सेवा शर्त सम्बन्धमा बनेका विधेयक सबै विषयमा छिटोभन्दा छिटो समितिमा पेस गर्ने गरी एउटा उपसमिति निर्माण गर्न तपाईंहरुलाई म अनुमतिका लागि अनुरोध गर्न चाहन्छु ।’

समितिमा एमालेबाट रघुजी पन्त र लीलानाथ श्रेष्ठ, कांग्रेसबाट ईश्वरी न्यौपाने, माओवादी केन्द्रबाट हितराज पाण्डे, रास्वपाबाट डा.चन्दा कार्की, जसपा नेपालबाट प्रकाश अधिकारी, जसपाबाट अशोक राई, नेकपा एसबाट राजेन्द्र पाण्डे, राप्रपाबाट बुद्धिमान तामाङ र लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल सदस्य छन् ।

उपसमितिले एक महिनाभित्र विधेयकमा सहमति जुटाएर प्रतिवेदन पेस गर्न समितिले समय दिएको छ।