चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम हुने: शेखर कोइराला

८ फाल्गुन २०८१, बिहीबार ११:५५

सुर्खेत । बिहीबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम हुने बताएका छन् ।

कोइरालाले भने, ‘नेपाली कांग्रेस पुरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधान अनुसार समयमा महाधिवेशन गरौँ भनेको छु । महाधिवेशन समयमै गर्नुपर्छ। चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम बन्छ ।’

उनले भने, ‘म सभापतिको उम्मेदवार हो भनिसकेको छु।’ अहिले देशको अवस्था निकै नाजुक रहेको बताउँदै उनले हामी सबैले निकै गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको बताए । सरकार समेत यसमा गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।उनले यो पटकको महाधिवेशनमा आफू सभापतिका लागि अघि बढेको सङ्केत समेत गरे ।

कोइरालाले भने, ‘हैन भने देश अप्ठ्यारोमा जान्छ । यो देशमा सुशासन छँदै छैन।’ अहिलेको गठबन्धनले ७ बुँदे समझदारी गरेको स्मरण गराउँदै उनले तर त्यो कार्यान्वयन नभएको बताए ।

उनले पछिल्लो समय दुई ठुला दल मिले निरङ्कुशता हुन्छ भन्ने प्रसङ्गप्रति सहमति समेत जनाए। ‘हो, हामीले खबरदारी पनि गरेका छौ, सबैतिर खबरदारी गर्नुपर्छ।’