हिमाली जिल्लामा प्रतिकूल मौसमका कारण  एचपीभी खोप अभियान प्रभावित

७ फाल्गुन २०८१, बुधबार १३:१६

काठमाडौं । प्रतिकूल मौसमका कारण हिमाली चार जिल्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको (एचपीभी) खोप अभियान प्रभावित भएको छ ।

मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा एचपीभी खोप अभियान स्थगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले मन्त्रालयले थालेको अभियानलाई प्रभावित जिल्लामा मौसममा सुधार आउनासाथ शुरू गरिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन्।

मन्त्री पौडेलले महिलाहरूलाई क्यान्सरबाट जोगाउन मन्त्रालयले शुरुआत गरेको पाठेघरको मुखको परीक्षण अभियानसमेत सफल पार्न सबैमा आग्रह गरेका छन् ।

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाको सङ्ख्या उच्च छ । नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्क छ ।