अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न सरकार प्रतिबद्ध रहेको: प्रधानमन्त्री ओली

४ फाल्गुन २०८१, आईतवार १५:०६

काठमाडौं । प्रतिनिधिसभामा आइतबार आयोजित प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद प्रकाशशरण महतले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा देखिएको चुनौतीहरूको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले गठबन्धनमा रहेका दलहरूबिच विकासलाई निरन्तरता दिँदै राजनीतिक स्थितिरता दिने पनि प्रतिबद्धता जनाए साथै उनले सरकारले ल्याएको अध्यादेशपछि देशमा लगानीको वातावरण बन्ने विश्वास समेत व्यक्त गरे ।

१। सर्वप्रथम अर्थतन्त्रलाई गतिशील बनाउने सम्बन्धमा माननीयज्यूले राख्नुभएको सुझावका लागि धन्यवाद । यस विषयमा मैले यसअघि नै केही कुरा प्रष्ट पारिसकेको छु। जहाँसम्म प्राथमिकतामा आधारित परिणाममुखी विनियोजनको तयारीको कुरा छ, आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटलाई प्राथमिकतामा आधारित र परिणाममुखी बनाउन तथा आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरी अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न, विकास निर्माणका गतिविधिलाई तीव्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको ब्यहोरा जानकारी गराउँछु।

चालु खर्चमा मितव्ययिता कायम गर्दै पुँजीगत खर्चमा वृद्धि तथा आयोजना कार्यान्वयनमा सुधार गर्न बजेट तर्जुमा गर्दा एवम् आयोजना छनौट तथा प्राथमिकीकरण गर्दा आयोजना बैङ्कमा प्रविष्टि भएको, क्षेत्रगत प्राथमिकतामा परेको, लगानीको स्रोत सुनिश्चितता भएको, छोटो समयमा प्रतिफल दिने, आयोजना वर्गीकरण मापदण्ड बमोजिम आयोजनाको सम्पूर्ण पूर्व तयारीका काम सम्पन्न भएका आयोजना मात्र छनौट गर्ने व्यवस्था मिलाइनेछ।

यसैगरी आयोजना कार्यान्वयनमा शीघ्रता ल्याउन, ठेक्का व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न, सार्वजनिक खरिद कानुनमा सामयिक संशोधन गर्न र अन्तर तह तथा अन्तर निकाय समन्वय कायम गर्न संयन्त्रहरूलाई क्रियाशील बनाइनेछ।

यसैगरी, हालै जारी अध्यादेश मार्फत आएका नीतिगत र कानुनी सुधारले व्यावसायिक वातावरणमा सुधार आउने तथा लगानी अभिवृद्धि भई आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु।

२। विकास, समृद्धि र स्थिरताका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेका दुई ठुला राजनीतिक दलहरूसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको हो। गठबन्धनमा रहेका दलहरूबिच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबिच कुनै शंका उपशंका गर्न जरुरी छैन। हामीबिच उच्च विश्वास र समझदारी रहेको छ।