रास्वपा सांसद तोसिमा कार्कीको रिट निवेदनमा निर्णय सुनाउनका लागि पेसी

४ फाल्गुन २०८१, आईतवार १२:४०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले २०७९ कात्तिक १४ गते दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबार निर्णय सुनाउन ‘निसु’ पेसी तोकिएको छ ।

उक्त रिट निवेदन न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा विचाराधीन छ । उक्त इजलासले गत पुस २५ गते नै मुद्दालाई ‘निसु’मा पुर्‍याएको हो । आइतबार न्यायाधीशद्वय शर्मा र पौडेलको इजलासमा यो मुद्दा ‘निसु’का लागि पेसी तोकिएको छ ।

कार्की प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । लाभको पदमा रहेको अवस्थामा उम्मेदवारी दिएको भन्दै आयोगले उक्त निर्णय गरेपछि कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

न्यायाधीश कुमार चुडालको इजलासले २०७९ कात्तिक १५ गते उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि तीन पटकसम्म संयुक्त इजलासमा पेसी तोकिएको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ भएको थियो । सोही वर्ष कात्तिक २८ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको थियो ।

नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेकै अवस्थामा कार्कीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी थिइन् । काउन्सिलमा निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा भत्तामात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने रिट निवेदकको जिकिर छ ।