काठमाडौं । पाँचौ ल एसिया तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन् ।
उनले, ‘यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता र समानताका साथ बाँच्न सक्ने कुरा सुनिश्चित गर्ने बताए ।’
नेपालमा, लोकतन्त्रप्रतिको जनताको लामो समयदेखिको समर्पण र उत्सर्गले हामीलाई त्यस्तो समाज निर्माणको लागि हरेक दृष्टिबाट प्रेरित गरेको उनको भनाई थियो ।
उनले नेपालले लोकतन्त्रको लागि लामो र कठिन यात्रा तय गरेका उल्लेख गर्दै विगत लोकतन्त्रको लागि अथक सङ्घर्षले भरिएको बताए ।
राष्ट्रपति पौडेलले लोकतन्त्रको सर्घषमा धेरै साहसी व्यक्तिहरूले अथक सङ्घर्ष गरेका बताउँदै यो सङ्घर्ष नेपालमा लोकतन्त्रको स्थापना पुनर्स्थापना हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न महत्त्वपूर्ण रहेको समेत स्पष्ट पारे ।
उनले भने, ‘यी प्रयासहरू मार्फत नै हामीले मानव अधिकारको सम्मान गर्ने समाज निर्माण गर्न सक्षम भएका छौ । यसमा नेपालका कानुन व्यवसायीहरूको योगदान अविस्मरणीय छ । जहाँसुकै र जो कोही होस् कानुनव्यवसायीहरू विधिको शासनको पहरेदार हुन् र लोकतन्त्रको रक्षक हुन् भन्ने पनि मेरो बुझाई छ ।’
उनले , ‘कुनै पनि किसिमको यातनारहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक, दासतामुक्त जीवन, रङ्ग भेद, लिङ्गभेद, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वाथ्यजस्ता मानव मात्रलाई नभई नहुने अधिकार भएको बताएकाछन् ।’
उनले भने, ‘लोकतन्त्रमा नागरिकका यी अधिकार राज्यबाट प्रत्याभूत भए, नभएको अनुगमन गर्ने र नभएको भए त्यसमा आवाज उठाउने व्यावसायिक धर्म पनि कानुन व्यवसायीको हो भन्ने मेरो बुझाई छ ।’
राष्ट्रपति पौडेलले लोकतन्त्रप्रति नेपालको प्रतिबद्धताले आफूहरूलाई विश्वव्यापी रूपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तर्राष्ट्रिय मञ्चमा समेत महत्त्वपूर्ण भूमिका खेल्न सक्षम भएको समेत ठम्याई छ ,उनले भनेका छन् ।
राष्ट्रपति पौडेलले हिमालयको मुटुमा अवस्थित नेपाल प्राकृतिक सौन्दर्य र स्रोतसाधनले भरिपूर्ण देश नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हाम्रा समुदायहरूमा गहिरो प्रभाव पर्न थालेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरू बढ्दै गएको बताए ।
उनले भने , ‘विकसित देशहरूको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोगेको छ । हामी यी वातावरणीय प्रकोपका निर्दोष पीडित हौ।’
‘यी अन्यायहरूलाई सम्बोधन गर्न र दिगो र समतामूलक भविष्यतर्फ काम गर्न हामीले ल एसिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त अभियानको अपेक्षा गरेका छौँ ।’ राष्ट्रपति पौडेलको भनाई थियो ।
