बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौ: पुष्पकमल दाहाल ‘प्रचण्ड’

२४ माघ २०८१, बिहीबार १६:१८

काठमाडौं। प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘अझै पनि गठबन्धनका साथीहरू माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म , सम्मानित संसदमै म फेरि एक पटक दोहर्‍याउछु, हामी अब सत्ताको खेलमा छैनौ । तपाईहरू देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौ । शहीदका सपना र सङ्कल्पतिर फर्किसक्यौ’ ‘तपाईहरूका सङ्गतले थोरै मैलिएका थियौ, धुलिएका थियौ। आधारभूत वर्गबाट थोरै टाढिएका थियौ । त्यो धुलो र मैलो टकटक्याएर हामी फेरि गरीब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौ।’

सत्तारुढ दलहरूबिच विश्वास छ भने दिनदिनै म यति महिनापछि छाड्छु भनिरहनुपर्छ र ? भन्ने प्रश्न गर्दै उनले अब विपक्षीको डरले एक अर्काका कुर्सी मिलाउन नलाग्न पनि आग्रह गरे ।

‘स्थायित्वको गुड्डी हाकेर बनेको गठबन्धन हो, स्थायित्व होस् । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै सङ्कट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन ।

०८४ सम्म मात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ’, उनले भने, ‘हामी सरकार बनाउनेछौ तर आफ्नै सामर्थ्यमा । सरकारको खेलमा हामी छैनौ तर, अहिले जसरी नै संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिडिरहनुभयो भने हामी प्रतिरोध गर्छौ।’