अछाम घटना सीआईबी र प्रदेश प्रहरीले घटनाबारे थप अनुसन्धान गर्ने

१५ माघ २०८१, मंगलवार १४:३७

कैलाली । अछाममा मृत भेटिएका दुई किशोरीको घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सईको नेतृत्वमा टोली खटाइएको छ, जसमा एक जना पोलिग्राफ गर्ने असई पनि छन्   ।

शुक्रबार बाख्रा चराउन गएका ढकारी गाउँपालिका ८ पल्साताका १४ वर्षीया इसरा खड्का र १५ वर्षिया सरस्वती खड्का शनिबार मृतअवस्थामा फेला परेका थिए ।

उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान गरिरहेको छ । घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको टोलीले थप अनुसन्धान गर्ने भएका छन् ।

‘हामीले पनि अनुसन्धान गरिरहेका छौं’ , केन्द्र र प्रदेशबाट पनि टोली आइरहेका छन्’,  ‘हामी चाँडै सत्यतथ्य पत्ता लगाउँछौं ।जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले भने

अछाम जिल्ला अस्पतालबाट किशोरीहरूको शव पोस्टमार्टमका लागि सोमबार भेरी अस्पताल नेपालगञ्जमा पठाइएको थियो । पोस्टमार्टम सकिए पनि रिपोर्ट आउन बाँकी रहेको अछाम प्रहरीले जनाएको छ ।

‘पोस्टमार्टम सकियो केही दिनमा पोस्टमार्टम रिपोर्टआउने छ, आएपछि घटनाबारे थप तथ्य बाहिर आउने डीएसपी भण्डारीले भने

प्रहरीले पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइने जनाएको छ । आफन्तले भने घटनाको अनुसन्धान नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् ।

घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्म दुई जना नियन्त्रणमा छन् । उनीहरूको पहिचान खुलाइएको छैन । अन्य केही व्यक्तिहरुलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

यस्तै प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द पनि आज सोही घटना सम्बन्धमा अछाम जाने भएका छन् ।