अहिलेका प्रधानमन्त्री भन्दा युवा पुस्ताले राम्रोसँग देश चलाउन सक्छौँ :गगन थापा

१३ माघ २०८१, आईतवार १६:३७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेका प्रधानमन्त्री भन्दा आफूले देशमा राम्रो काम गरेर देखाउने बताएका छन् ।

आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका हुन् ।

थापाले भने आफूहरूले अवसर पाउने हो भने ‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा युवा पुस्ताले राम्रोसँग देश चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु,’

‘आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दावाका साथ भन्नसक्छु ।’ उनले भने

अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको उनको भनाइ थियो ।
‘त्यही चलाउँछौँ भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो । म जिम्मा लिन्छु भनेर गएको पनि हो । ति प्रयासबाट आएका परिणामहरुलाई पनि स्वीकार्नुपर्छ । यो दशक अब फेरि खेल फाल्नु हुँदैन,’ थापाले भनेका छन् ।