सरकारलाई तत्काल सदन बोलाउन दबाब दिने विपक्षी ६ दलहरूको निर्णय

२ माघ २०८१, बुधबार १२:०५

काठमाडौं ।  सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दल कार्यालयमा बसेको विपक्षी ६ दलहरूको बैठकमा चार विषयमा छलफल भएको छ।

सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरिरहेकाले तत्काल सदन बोलाउन दबाब दिने निर्णय भएको  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल ले जानकारी दिए।

‘सरकारलाई सदन बोलाउन दबाब दिने , सरकारले विपक्षी दलहरूको आवाजलाई नसुन्नेको , विशेष अधिवेशनसमेत माग गर्नुपर्ने, संसद छलेर सरकारले अध्यादेश ल्याएको विषयमा पनि बैठकमा छलफल भएको’ उनले बताए।

‘संसद अधिवेशन नबोलाउने तर अध्यादेशबाट शासन चलाउन खोज्ने सरकारको कार्यशैलीप्रति सबै विपक्षी दलको आपत्ति नै रह्यो,’ उनले भने।

यस्तै सदनमा विचाराधीन विधेयक पनि अध्यादेशका रूपमा जारी भएको बताउँदै यसलाई बैठकले गैरसंवैधानिक ठहर गरेको उनको भनाइ छ।

‘यी विषयमा हामीले घनिभूत छलफल गरेका छौं, हाम्रो साझा धारणा बिहीबार प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्नेछौं। त्यसका लागि बिहीबार नै पत्रकार सम्मेलन पनि आयोजना गरिएको छ,’ उनले भने।

बैठकमा माअ‍ोवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राप्रपा, आम जनता पार्टीलगायत दलहरूका शीर्ष नेताहरू सहभागी थिए।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डु को आह्वानमा बैठक बसेको हो।

बैठकमा प्रचण्ड, रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेताहरूबीच कुराकानी भएको हो।