आज बिहान चीनमा गएको भूकम्प परी मृत्यु हुनेको संख्या ३६ पुग्यो

२३ पुष २०८१, मंगलवार १०:३४

काठमाडौँ । मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । चिनियाँ समाचार संस्था सीजीटीएनले यो जानकारी दिएको हो

यता, पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।

डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू ढलेको पिपल्स डेलीको समाचारमा उल्लेख छ । डिंग्रीका काउन्टी प्रमुखले सो क्षेत्रमा भूकम्पको ठुलो झट्का महसुस भएको जनाएका छन् । सरकारी अधिकारी तथा उद्धारकर्मीहरू भूकम्प प्रभावित क्षेत्रमा पुगिरहेको समाचारमा उल्लेख छ ।

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।