नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्ति एकताबद्ध भएर विशेषतासहितको समाजवाद निर्माण हुनुपर्छः प्रचण्ड

११ पुष २०८१, बिहीबार १३:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

माओको १३२ औँ जन्म जयन्तीको अवसरमा बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत रहेको बताएका हुन् ।

विगतमा सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनीतिक कदम भएको उनले स्पष्ट पारे ।

यस सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूत रुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत रहेको जनाएका छन् ।

माओले विकास गरेको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचारलाई नेपालका कम्युनिष्ट पार्टीहरुले मार्गदर्शकको रुपमा लिने गर्दछन् ।