राष्ट्रियसभा निर्वाचनको अन्तिम नामावली सार्वजनिक गर्ने

९ माघ २०७४, मंगलवार ०९:१९

माघ ९, काठमाडौं ।

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका मतदाताको अन्तिम नामावली आज सार्वजनिक गर्दैछ । नामावलीमाथिको उजुरी र दावी विरोधमाथि छानबिन सकी आज साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

आईतबार मतदाताको प्रारम्भिक नामावली प्रकाशन गरेको आयोगले सोही दिन साँझ ५ बजेसम्म नामावलीमाथि दाबी बिरोधको समय दिएको थियो । सातै प्रदेशका उच्च अदालतमा मतदान केन्द्र तोकेको आयोगले निर्वाचन अधिकृतको कार्यालयमार्फत उजुरीमाथि छानबिन गर्ने जनाएको छ ।

राष्ट्रिय सभा सदस्य अन्तर्गत २४ गते हुने निर्वाचनमा ५६ सदस्य निर्वाचित हुनेछन् । बाँकी ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान छ । निर्वाचन प्रक्रियाबाट चुनिने ५६ सिटका लागि भोली उम्मेदवारले मनोनयन दर्ता गराउने कार्यतालिका छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका १ हजार ५ सय ६ र ५ सय ५० प्रदेशसभा सदस्य गरी कुल २ हजार ५६ मतदाता रहनेछन् ।