नवराज सिलवाल इन्टरपोलको सूचीमा ‘मोस्ट वान्टेड’

८ माघ २०७४, सोमबार ०८:५३

माघ ८, काठमाडौं ।

नेपाल प्रहरीका पूर्व नायव महानीरिक्षक (डिआईजी) तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका सांसद नवराज सिलवालविरुद्ध प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेको छ

डिफ्यूजन नोटिस जारी भएसँगै सिलवाल प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरपोल’को मोस्ट वान्टेडको सूचीमा  परेका छन् ।

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बढुवामा कार्यसम्पादन मूल्याङ्कन (कासमू) किर्ते गरेको अभियोगमा प्रहरीले उनीविरुद्ध जाहेर दर्ता गरेर खोजी गरेको थियो । देशका विभिन्न ठाउँमा खोजी गर्दा फेला नपरेको भन्दै प्रहरी प्रधान कार्यालयले सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो ।

 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सिलवालविरुद्ध आइतबार अपराह्न डिफ्यूजन नोटिस जारी गरिएको हो ।

डिफ्यूजन नोटिस जारी भएसँगै विश्वका १९२ देशका प्रहरीले सिलवालमाथि निगरानी शुरु गरेको छ । सिलवाल फेला परेसँगै नेपाल प्रहरीलाई खबर गरिनेछ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाएको थियो । सर्वोच्च अदालतले कासमू किर्ते भएको भन्दै सिलवाललगायत किर्तेमा संलग्न व्यक्तिलाई कारबाही गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।