काठमाडौँ । आज(मंगलबार)देखि बडादशैँको सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन् । बडादशैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन्
सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुलेसँगै राजधानी काठमाडौँको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् । यस वर्षको दशैँमा झण्डै १३ लाख सर्व साधारणले उपत्यका छोडेका थिए ।
तर आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वाद स्वरुप नव दुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी छ ।
आश्विन शुक्ल प्रतिपदा देखि नवमी सम्म नव दुर्गाको साधना गरिएको प्रसाद स्वरुप विजयादशमीका दिन देखि सुरु भएको टीका र जमरा लगाउने क्रम जारी रहेको हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमी देखि आश्विन शुक्ल पूर्णिमा सम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।
आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमाआज(मंगलबार)देखि चहलपहल बढ्न थालेको छ ।
