झापा ।आगजनी गरिएको ट्रकका चालकको मृत्यु भए पछि बी एण्ड सी अस्पतालका संचालक दुर्गा प्रसाईका ८ जना कार्यकर्ता माथि कर्तव्य ज्यानको मुद्धामा कानुनी कारवाही अगाडि बढाइएको छ ।
उनीहरुले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भए पछि कर्तव्य ज्यानमा समेत थप प्रक्रिया कारवाही अगाडि बढाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापा जिल्ला अदालतबाट आपराधिक उप द्रव र ज्यान मार्न अद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको असोज १९ गते मृत्यु भएपछि सो सम्बन्धमा कानुन बमोजिम कर्तव्य ज्यानमा समेत थप कारवाही अगाडि बढाइएको झापाका प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले बताए ।
‘राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति ,नागरिक बचाउमहाअभियान’ का केन्द्रीय संयोजकदुर्गा प्रसाई काठमाडौमा पक्राउ परेपछि आन्दोलित बनेका उनका कार्यकर्ताले असोज ६ गते राति साढे १० बजे कनकाई नगरपालिका–८ को स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकेर नेपालको सिराहातर्फ गइरहेको कुमार महतोले चलाएको युपी ५७एटी ४४९३ न. को भारतीय ट्रक र सोही रातिको बिहान साढे २ बजे बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको डब्लुबी७३ ई ३०५६ न. को अर्काे भारतीय ट्रकमा आगजनी गरेका थिए ।
मोटर साइकलमा आएका प्रसाईंका कार्यकर्ताले ट्रक चालकलाई मार्ने उद्धेश्यले प्लाष्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर (पेट्रोल बम) ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए ।
ट्रक चालक कुमार महतो घाइते भई भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएकाथिए । रायलाई बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
पक्राउ परी ज्यान मुद्धामा पर्नेहरु माहल्दीबारी–१ स्थायी ठेगानाभई हालबिर्तामोड ५ बस्ने प्रसाईं नेतृत्वको अभियानको भ्रातृ संगठन नागरिक सुरक्षा बल (पीडीएफ) का झापा संयोजक भिम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड– ७ बस्ने सुरेश चौधरी, पीडीएफका सदस्यहरु हल्दीबारी–१ बस्ने विवस लिम्बू, बुद्धशान्ति –४ बस्ने बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर– ६ बस्ने राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा– ९ बस्ने रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दीबारी– १ बस्ने विरबहादुर गुरुङ र पीडीएफका सदस्य बिर्तामोड– ३ बस्ने उदय लिम्बू रहेका छन ।
भारतीय ट्रक चालकको मृत्यु भएपछि उनका आफन्तहरुले आइतवार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानी टंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । भारतीय प्रहरीले नेपाल प्रहरीसंग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको छ ।
