काठमाडौं । आज आश्विन शुक्लपञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन । आजदशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
छान्दो ग्यश्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले चिनिन्छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गर्ने गरिन्छ । नवरात्रका अवसर मादेवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्लप्रतिपदा देखि नवमी सम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमी देखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँ छन् ।
नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।
दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्र घण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।
पाँचौँ दिन सोमबार पनि चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजा आराधना गरिएको थियो । नवरात्रको छैटौँ दिन आज भने स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो ।
दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।
यस वर्ष भने चौथी तिथि वृद्धिभई दुई दिनको सूर्योदय कालमातिथि परेको नेपालपञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यीनै नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
